लक्ष्मी सनराइज बैंकले एड्भाइजरी प्रालि र अमेरिकन चेम्बर अफ कमर्स इन नेपालसँग सहकार्य गर्ने भएको छ । बैंकले डिजिटल डिसेम्बर २०२५ इम्पावरिङ इन्टरप्राइजेज अभियानअन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) नवप्रवर्तनको दायरा मजबुत बनाउन सहकार्य गरेको हो ।
हाल सातौँ वर्षमा रहेको डिजिटल डिसेम्बर अभियान डिजिटल सचेतना अभियानका रूपमा सुरु भई उद्यम रूपान्तरणको एक रणनीतिक प्लाटफर्मका रूपमा विकसित भएको छ । यस संस्करणले उच्च मूल्य तथा उच्च परिमाणका व्यावसायिक कारोबारलाई नगद र चेकबाट सुरक्षित डिजिटल माध्यमतर्फ रूपान्तरण गर्ने बताइएको छ । साथै, एपिआई तथा होस्ट टु होस्ट कनेक्टिभिटीमार्फत उद्यमीहरूको सञ्चालन प्रणालीमा बैंकिङ सेवा जडान तथा एकीकृत गर्ने तथा डिजिटल प्लाटफर्मलाई व्यावसायिक भुक्तानीको प्राथमिक माध्यमका रूपमा स्थापित गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ ।
समझदारीअन्तर्गत बैंकको उद्यम डिजिटलाइजेसन पहलबाट नवप्रवर्तनको विस्तार गर्दै प्रारम्भिक चरणका नवप्रवर्तक, स्टार्टअप तथा उद्यमीलाई वास्तविक बैंकिङ पूर्वाधार र विषयगत विशेषज्ञतासँग जोडी पुँजी उपलब्धताका लागि तयार पार्ने उद्देश्य राखेको छ ।
सम्झौताअन्तर्गत लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ का मुख्य आधार एपिआई, प्लाटफर्म कनेक्टिभिटी र उद्यम तयारीसँग मेल खाने सहकार्य क्षेत्र अन्वेषण गर्नेछ । यसमा नवप्रवर्तकलाई उद्यम–सम्बन्धित डिजिटल समाधानको प्रोटोटाइप विकासका लागि चुनिएका ओपन एपिआई वा स्यान्डबक्स वातावरणमा पहुँच समावेश छन् । त्यसैगरी, उच्च सम्भावना भएका उद्यमहरूसँग प्रारम्भिक चरणमै संलग्न भई बजार तयारी र विस्तार क्षमताको मूल्यांकन तथा डिजिटल वित्त, फिनटेकमा आधारित वृद्धि र स्टार्टअपलगायतका विशेषज्ञ सत्र पनि समावेश रहेको बैंकले जनाएको छ ।
यस सहकार्यले अमेरिकी दूतावासको समर्थनमा सञ्चालन हुने तीनवटा राष्ट्रव्यापी पहल सिडिङ एन्ड स्केलिङ इनोभेसन्स, कोड फर इम्प्याक्ट ह्याकाथन्स र युएस–नेपाल कमर्सियल डिप्लोमेसी डिस्कसिङ सिरिजलाई समेत सघाउनेछ ।