ग्लोबल आइएमई बैंक र डिएआई–उदय परियोजनाबिच समझदारी भएको छ । यसअन्तर्गत कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमलाई वित्तीय पहुँचका लागि सहकार्य गरिने बताइएको छ । यससम्बन्धी समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मी र परियोजनाका चिफ अफ पार्टी अरुण रानाले हस्ताक्षर गरेका हुन् ।
यससँगै कोशीमा सञ्चालित विभिन्न साना तथा लघु व्यवसायहरूलाई सहजै कर्जा प्रवाह हुने बताइएको छ । त्यस्तै, लगानी अभावले व्यवसाय विस्तार गर्न असमर्थ उद्यम तथा उद्यमीको व्यवसाय विस्तारसँगै रोजगारी वृद्धि हुने विश्वास बैंकले लिएको छ । परियोजनाले छनोट गरेका उद्यम तथा व्यवसायले यस बैंकका कोशी प्रदेशका सम्पूर्ण शाखा कार्यालयबाट सहजै कर्जा पाउन सक्नेछन् ।
नेपाल सरकार तथा स्विट्जरल्यान्ड सरकारको द्विपक्षीय पहलस्वरूप कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको प्राविधिक सहयोगमा कोशी प्रदेशका सम्पूर्ण जिल्लाहरूमा डिएआई–उदय परियोजनाले कार्य गर्दै आइरहेको छ । परियोजनाले कोशीमा नवीकरणीय ऊर्जा, कृषि प्रशोधन, आइटी, पर्यटन तथा उत्पादनमूलक उद्योगलगायतका व्यवसायलाई कर्जाको उपलब्धता तथा व्यावसायिक उन्नतिका लागि वित्तीय स्रोतमा सहज वातावरण बनाइरहेको छ ।