होटल संघ पोखरा नेपालले पर्यटन क्षेत्रलाई उद्योगको मान्यता, पोखराबाट अन्तर्राष्ट्रिय उडान सगै राजमार्गको स्तरोन्नतीमा भएको ढिलाइलगायत विषय समेटेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री अनिलकुमार सिन्हालाई पाँच बुँदे ध्यानाकर्षणपत्र बुझाएको छ ।
शनिबार पोखरामा आयोजित कार्यक्रमा संघका तर्फबाट अध्यक्ष लक्ष्मण सुवेदीले मन्त्री सिन्हालाई ध्यानाकर्षणपत्र बुझाउँदै त्यसको कार्यान्वयनका लागि आवश्यक पहल र समन्वय गर्न माग गरेका हुन् ।
अध्यक्ष सुवेदीले संघमा पर्यटक स्तरदेखी तारे होटल, रिसोर्टसम्मका चार सयभन्दा बढ़ी होटल आबद्ध रेहका ती होटलहरूमा मात्रै पाँच खर्बभन्दा बढी लगानी भएको र हजारौंलाई रोजगार दिएको, संघले पोखरासँगै गण्डकी प्रदेश र समग्र देशको पर्यटन प्रवद्र्धन एवं दिगो पर्यटन विकासलाई प्रभावकारी बनाउन आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरी चार दशकदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिएका थिए ।
संघले अघि सारेका विषयहरू सम्बोधन गरी पोखराको पर्यटनलाई थप उचाइमा पुर्याउन आवश्यक सहयोगका लागि सुवेदीले मन्त्रीसमक्ष अनुरोध गरेका थिए ।
यस्ता छन् पाँच बुँदा ः
अध्यक्ष सुवेदीले आवश्यक पहल र समन्वयका लागि मन्त्री सिन्हालाई बुझाएका पाँच बुँदा यस्ता छन् ।
१. आर्थिक वर्ष ०८२/०८३ को बजेट भाषणबाट पर्यटन उद्योगलाई पनि अन्य उद्योग सरहको सुविधा दिइनेछ भनि सम्बोधन भए पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।
२. हालसम्म आन्तरिक उडानमा मात्रै सिमित रहेको पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट भारत र चीनका विभिन्न शहरमा उडान सञ्चालन गराउन आवश्यक पहलकदमी गरिदिनु हुन् । साथै छिमेकी देशका सिमावर्ति शहर र आन्तरिक पर्यटकलाई लक्षित गर्दै प्रादेशिक शहर विच आन्तरिक हवाई सञ्जाल विस्तार गरिनुपर्ने ।
३. वातावरणीय अध्ययन (बिईएस, आईई र ईआईए) को कारणले पर्यटन कार्यालय एवं विभागबाट नविकरण हुन नसकेका साना तथा मझौला होटल उद्योगहरू सहज रुपमा नविकरण गरी नेपाल राष्ट्र बैंकबाट प्रदान गरिने विदेशी मुद्रा कारोवारको अनुमतीपत्र समेत नविकरण गरिनु पर्ने । साथै २०७२ भन्दा अघि निर्माण भएका साना तथा मझौला होटल उद्योगहरुले गर्नु पर्ने वातावरणीय अध्ययन व्यवहारिक नभएको हुँदा यसलाई खारेज गरिनुपर्ने ।
४. जेन–जी आन्दोलनबाट प्रत्यक्ष प्रभावित होटल प्रतिष्ठानहरूलाई पुनर्उत्थानको लागि उचित राहतको व्यवस्थापन गरिनुपर्ने ।
५. पोखरासँग जोडिएको मुख्य राजमार्गको स्तरोन्नतीमा ढिलाई भएको हुँदा तोकिएको समयमा पूरा गर्न सम्बन्धित निकायलाई दबाब दिइनुपर्ने ।
पर्यटनलाई उद्योगसरह सहुलियत दिनेबारे छलफल भइरहेको छ : मन्त्री सिन्हा
ध्यानाकर्षण पत्र बुझेपछि मन्त्री सिन्हाले संघले उठाएका सवै विषय सकारात्मक रहेको बताउँदै पर्यटन क्षेत्रलाई उद्योगसरहको सहुलियत दिने विषयमा छलफल भै रहेको बताए । यसको कार्यान्वयन अन्तिम चरणमा पुगेको, पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि सरोकारवालहरु संग आवश्यक छलफल र समन्वय भै रहेको, २४ भदौमा भएको क्षतिको विवरण संकलन भै रहेकाले विवरण आएपछि के गर्ने भनेर सल्लाह भै रहेको बताएका थिए ।
गण्डकीका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि संघ सरकारलाई झकझकाउने काम गरिरहेको बताएका थिए । प्रदेशले समाधान गर्ने पर्यटन क्षेत्रका समस्याहरु समाधानका लागि सरकारले काम गरिरहेको उनले बताएका थिए ।
नेपाल पर्यटन बोर्डका पूर्व सदस्य एवं संघका सल्लाहकार विश्वशंकर पालिखेले नेपालमा अपेक्षित पर्यटक नआउनुको कारण खोजि गरी पर्यटन बोर्डमार्फत सातै प्रदेशमा पर्यटन मार्ट आयोजना गरि प्रवद्र्धनका काम संचालन गर्न माग गरेका थिए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले जेन–जी आन्दोलनको क्रममा लुटिएका हतियारहरु फिर्ता र बन्दीहरु पक्राउ नगरिएसम्म सुरक्षाको वातावरण तयार हुन नसक्ने बताएका थिए । लगानीको सुरक्षा र व्यावसायिक वातावरण निर्माण गर्नेतर्फ सरकार गंभीर भएर लाग्न आवश्यक रहको उनले बताएका थिए ।