सल्यानमा पहिलो पटक सल्यान जिल्ला अस्पताल परिसरमा रक्त सञ्चार केन्द्रको स्थापना भएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यान र जेनजी समूहको शक्रियतामा पहिलो पटक उपचारका समयमा रगतको अभाव नहोस भन्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो । नेपाल रेडक्रस सोसाइटीले २० लाख रुपैयाँ खर्चेर तीन कोठे भवन निर्माण गरेको धेरै वर्ष बितिसक्दा समेत रक्त सञ्चार केन्द्र सञ्चालनमा आउन सकेको थिएन ।
स्वास्थ्य सेवा कार्यालय र स्थानीय युवाहरुको सक्रियतामा रक्त सञ्चार केन्द्र शुक्रबारबाट सञ्चालनमा आएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढा मगरले जानकारी दिए। केन्द्र सञ्चालनमा ल्याएपछि जिल्ला अस्पतालमा उपचार तथा शल्यक्रिया गर्नुपर्ने विरामीलाई सहज हुने उनको भनाइ छ। यसअघि रगत आवश्यक भए बिरामीका आफन्त तथा स्वास्थ्यकर्मीले रगत समूह मिल्ने व्यक्तिलाई सामाजिक सञ्जाल तथा फोनमार्फत सम्पर्क गरेर व्यवस्थापन गर्नुपर्ने बाध्यता थियो।
डा. अर्जुन बुढा मगरले अब रगतको अभावमा बिरामीलाई रिफर गर्नुपर्ने बाध्यताको अन्त्य भएको बताए। उनले भने, ‘जिल्ला अस्पतालमा जटिल समस्या भएका गर्भवतीको एक दशकदेखि शल्यक्रिया हुने गरे पनि रगत चाहिने अवस्थामा सास्ती हुँदै आएको थियो।’
२०४४ सालमा स्थापना भएको अस्पताल १५ शय्याको भएपनि अहिले ४० बेड राखेर सेवा दिँइदै आएको उनले जानकारी दिए। अस्पतालमा महिनामा ८ देखि १२ प्वाइन्ट रगत खपत हुने गरेको र रक्तसंचार केन्द्रमा संकलन गरेका रगत बढी भएमा अन्यत्र पठाउन सकिने उनले बताए।
सल्यानमा रक्तसञ्चार स्थापनाको लागि धेरै प्रयास गरेको सल्यान जेन्जीका संयोजक युवराज खडकाले जानकारी दिए। पटक पटक राजनीतिक एजेन्डा बन्ने तर ब्लड बैंक सञ्चालनमा नआउँदा नागरिकले धरै समस्या भोगेकाले आज युवाहरुको सक्रियामा ब्लड बैंक सञ्चलन गरिएको बताए। ब्लड बैंकका लागि स्वास्थ्य मन्त्रालयबाट आवश्यक सामाग्री ल्याउन सफल भएको बताए।