संखुवासभाको ७६ वटै वडामा पुग्यो फोरजी सेवा

शनिबार, १२ पुष, २०८२
डिजिटल संस्करण
संखुवासभाको ७६ वटै वडामा पुग्यो फोरजी सेवा

भोटखोला– १, किमाथांकाको सिमबोक्प डाँडामा राखिएको टावर

  • दुर्गम र विकट मानिएको तथा चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका– १, किमाथांका गाउँको सिमबोक्प डाँडामा टावर जडानपछि जिल्लाका सबै वडामा पुग्यो फोरजी सेवाको पहुँच

संखुवासभाका ७६ वटै वडामा टेलिकमको फोरजी सेवा विस्तार भएको छ । पाँच नगरपालिका र पाँच गाउँपालिकामा रहेका ७६ वटा वडामा फोरजी सेवाको पहुँच विस्तार भएको हो । जिल्लाकै दुर्गम र विकट मानिएको चीनसँग सिमाना जोडिएको भोटखोला गाउँपालिका– १, किमाथांका गाउँको सिमबोक्प डाँडाबाट फोरजी सेवा विस्तार गरी सञ्चालनमा आएपछि संखुवासभाको सबै ठाउँमा सेवा विस्तार भएको हो । सिमबोक्प डाँडा समुद्री सतहबाट ३७ सय मिटर उचाइमा छ ।

सदरमुकाम खाँदबारीदेखि एक सय ६२ किलोमिटर उत्तरमा रहेको विकट किमाथांका नाकामा फोरजी सेवा सञ्चालन थालिएको टेलिकम कार्यालय खाँदबारीका कार्यालय प्रमुख प्रेमकुमार राईले बताए । ‘फोरजी सेवा विस्तार भएपछि निर्धक्कसँगले नेपाल टेलिकमको डेटा खरिद गरी भिडियो कल गरेर कुराकानी गर्न सकिनेछ,’ राईले भने, ‘यसअघि संखुवासभाको धेरै ठाउँमा टुजी सेवा मात्रै थियो, टुजीबाट डेटा खरिद गरेर भ्वाइस कलमा मात्रै कुराकानी गर्न सकिन्थ्यो, फोरजी सेवा विस्तार भएपछि भिडियोमा कुराकानी गर्न सहज भएको छ ।’ 

स्थानीय जनप्रतिनिधिले लगातार चासो दिएर निरन्तर सहयोगसमेत गरेकाले फोरजी सेवा विस्तार गर्न सहज भएको कार्यालय प्रमुख राईले बताए । भौगोलिक विकटताले टावर नटिप्ने अन्य क्षेत्रको पनि पहिचान गरेर क्षमता विस्तार कार्य पनि अघि बढाइएको उनले बताए । जिल्लामा हालसम्म जिएसएमका  ३२ वटा बिटियस टावर सञ्चालनमा छन् । त्यसमध्ये भोटखोला गाउँपालिकाको माक्पालुङ डाँडा, सभापोखरी गाउँपालिकाको साउनेडाँडा र चैनपुर नगरपालिकाको चौकी मंगलबारेमा रहेको बिटियस टावर सोलारबाट सञ्चालनमा रहेको छ । अन्य ठाउँका टावरहरू स्थानीय हाइड्रोपावर र कतिपयमा केन्द्रीय विद्युत् प्रसारणलाइनबाट सञ्चालनमा रहेका छन् । 
 

सुझावित समाचार