आठौँ बागलुङ महोत्सव सुरु

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आठौँ बागलुङ महोत्सव सुरु भएको छ । पुस २१ गतेसम्म सञ्चालन हुने महोत्सवको शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्घाटन गरेका छन् ।

 बिहान ११ बजे बागलुङ बजारबाट र्याली सुरु भई बाँगेचौर खेलमैदानमा पुगेर उद्घाटन समारोहमा परिणत भएको थियाे । उद्घाटन कार्यक्रमलाई भव्य बनाउनका लागि आयोजकले विभिन्न ठाउँ, टोल, समूहबाट र्याली, झाँकी ल्याउन आह्वान गरेको थियो । झन्डै ५० भन्दा बढी सामाजिक तथा शैक्षिक संस्थाका विभिन्न झाँकी प्रदर्शन गरिएको मूल आयोजन समितिका संयोजक एवं अध्यक्ष राजनकुमार शाक्यले जानकारी दिए । 

महोत्सवमा दुई सयभन्दा बढी स्टल निर्माण गरिएकामा सबै स्टल बुकिङ भइसकेको स्टल संयोजक अर्जुन कँडेलले जानकारी दिए । महोत्सव उद्घाटन समारोहमा आठ स्रष्टा सम्मान गरिएको थियो ।  विभिन्न आठ विधाका क्षेत्रबाट समाजमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान गरिएको हो ।

‘आठौँ महोत्सव आठ स्रष्टा सम्मान कार्यक्रम आयोजना गरेका छौँ, विभिन्न विधाबाट हाम्रो समाजमा योगदान गरेका व्यक्तिलाई हामी सम्मान गरेका छौँ,’ अध्यक्ष शाक्यले भने, ‘संस्थागत सम्मानमा उद्योग वाणिज्य संघ चितवन, हस्तकलातर्फ ठाकुरजंग राजभण्डारी, राष्ट्रिय क्रिकेट खेलाडी सुवास भण्डारी, कला संगीतको क्षेत्रमा योगदान पुर्याएका शुभराम भारी, व्यावसायिक प्रतिष्ठानबाट सिद्धार्थमिलन श्रेष्ठ, सगरमाथाको उचाइ नाप्ने रविन कार्की, बुर्तिबाङबाट राष्ट्रिय महिला भलिबलको टिममा पर्न सफल मीना सुनार, जेन–जी आन्दोलनमा सहिद भएका शौरनकिशोर श्रेष्ठलाई जेन–जी सुशासन योद्धाको रूपमा मरणोपरान्त सम्मान गर्दैछौँ ।’ 

महोत्सवमा विभिन्न खेलकुद, मनोरञ्जन तथा अन्य प्रतिस्पर्धात्मक कार्यक्रमसँगै रचनात्मक कार्यक्रम आयोजना गरिएको छ ।  महोत्सवमा देश–विदेशमा चर्चित कलाकारहरूको सांगीतिक प्रस्तुति, दोहोरीगीत प्रतियोगिता, महिला तथा पुरुष भलिबल प्रतियोगिता, स्टोरी टेलिङ प्रतियोगिता, स्टार्टअप पिचिङलगायतका अन्य कार्यक्रमहरूको पनि आयोजना गरिएको बागलुङ उद्योग वाणिज्य संघका महासंघ इन्द्रमणि पौडेल अर्जनुले बताए । 

‘पर्यटन, कृषि, कला संस्कृति, उद्योग र व्यापार, समुन्नत बागलुङ निर्माणको आधार’ भन्ने नाराका साथ ११ गतेदखि पुस २१ सम्म सञ्चालन हुने महोत्सवमा अंग्रेजी नयाँ वर्षलाई विशेष बनाउन ब्यान्डसहितको कार्यक्रम आयोजना गरिएको छ भने उक्त दिन राति १२ बजेसम्म कार्यक्रम हुने बताइएको छ । महोत्सवमा दुई दिन तीनवटा ब्यान्डको प्रस्तुति रहने भएकाले टिकटदर वृद्धि गरिएको छ । 

टिकट व्यवस्थापनका संयोजक तथा उद्योग वाणिज्य संघ बागलुङका प्रथम उपाध्यक्ष नवीनकुमार श्रेष्ठले पुस १६ र १८ गतेका लागि अनलाइन टिकट खुला गरिएको र उक्त दिनको टिकट ५००, ८०० र १००० तोकिएको जानकारी दिए । ‘१६ गते दि फिरन्ते र रकेट ब्यान्डको प्रस्तुति रहनेछ भने १८ गते सविन राईको ब्यान्डको प्रस्तुति रहनेछ,’ उनले भने, ‘त्योे दिन पास र अन्य टिकटले प्रवेश गर्न पाइनेछैन । मेरोटिकट एफमार्फत अनलाइन टिकट खुला गरेका छौँ ।’ 

महोत्सवको अन्य दिन टिकटदर एक सय रुपैयाँ रहेको र विद्यार्थीलाई ७० रुपैयाँमा टिकट व्यवस्थापन गरिएको छ । ज्येष्ठ नागरिक र अशक्त व्यक्तिहरूलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ भने विद्यालयहरूले सामूहिक रूपमा विद्यार्थीहरूलाई महोत्सव अवलोकनमा लैजाँदा पनि प्रवेश शुल्क नलाग्ने संयोजक श्रेष्ठले बताए । महोत्सवको टिकटको अर्धकट्टीसहित बागलुङमा रहेको बिएसआर मुभिजमा फिल्म हेर्न गएर एकवटा टिकट काट्दा एकजनालाई फ्री र खाजा खाएमा १० प्रतिशत छुटको व्यवस्था गरिएको छ । 

महोत्सवको अवसरमा हेलिकोप्टरबाट साबिक धौलागिरी अञ्चलका पर्यटकीयस्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको छ । प्रतिव्यक्ति नाै हजार रुपैयाँमा सात मिनेटमा पर्यटकीयस्थलको अवलोकन गर्ने व्यवस्था मिलाइएको निवर्तमान अध्यक्ष नरेश कँडेलले जानकारी दिए । ‘हामीले नाै हजारदेखि ७० हजारसम्म तिरेर सात मिनेटदेखि आधा घण्टासम्म विभिन्न धार्मिक तथा पर्यटकीय स्थलहरुको अवलोकन गर्ने व्यवस्था मिलाएका छौँ,’ उनले भने । ५० लाख नाफा हुने अपेक्षा लिइएको महोत्सवमा दुई करोड २० लाख रुपैयाँ आम्दानी र एक करोड ७० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । 

महोत्सवमा खुला राष्ट्रिय लोकदोहोरीगीत प्रतियोगिता, गण्डकी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता, खुला महिला भलिबल प्रतियोगिता, पञ्चेबाजा प्रदर्शनी तथा प्रतियोगिता, भाले छुने प्रतियोगिता, सामूहिक नृत्य, वक्तित्वकला, डाेरी तान्ने, घैँटोफोर, तारा हान्ने प्रतियोगिता,  विभिन्न झाँकी प्रदर्शनी र राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुतिसहित मेलाको समयमा पर्ने अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा लाइभ डिजे कन्सर्ट हुने प्रेस सल्लाहकार सुवास आचार्यले जानकारी दिए । 
महोत्सवमा बागलुङका पर्यटकीय स्थलहरुको प्रचारप्रसारका लागि फोटो प्रदर्शनीसमेत गरिने प्रेस सल्लाहकार आचार्यको भनाइ छ ।
 

See More On

सुझावित समाचार