२७औँ पोखरा सडक महोत्सवकाे तयारी पूरा

होटल तथा रेष्टुरेण्टले सडकमै भान्छा राख्ने र सडकबाटै सेवा दिने

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाऊँ’ भन्ने नारासहित पोखराको प्रमुख पर्यटकीय केन्द्र फेवाताल किनारको लेकसाइडमा १३ पुसदेखि हुने २७औँ पोखरा सडक महोत्सव २०२६ को तयारी पूरा भएको छ।

अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) पोखराको आयोजना हुन लागेको महोत्सवको तयारी पूरा भएको आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।

लेकसाइडको फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जहरेवरसम्मको साढे तीन किलोमिटर क्षेत्रमा सञ्चालन हुने पाँचदिने महोत्सवमा रेबानमा आबद्ध रेस्टुरेन्टसँगै खाना र अन्यका गरी चार सयभन्दा बढी स्टल रहने आयोजक रेवानका अध्यक्ष विश्वराज पौडेलले जानकारी दिए।

आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यस्थलको रूपमा विकास गर्ने मुख्य उद्देश्यसहित आयोजना गरिएको महोत्सव अवधिभर त्यस क्षेत्रमा सञ्चालित होटेल तथा रेस्टुरेन्टहरूले आफ्ना भान्सा सडकमै राख्ने र सडकबाटै पर्यटकलाई सेवा दिने उनले बताए। महोत्सवले पोखरा र आसपासका क्षेत्रमा रहेका नेपाली कला, संस्कृति, रहनसहनलगायतका वस्तुलाई जगेर्ना गर्दै विदेशी पर्यटकमाझ चिनाउन सहयोग गर्नेे उनको भनाइ छ।

आयोजक रेवानका उपाध्यक्ष एवं महोत्सव संयोजक वसन्त गौतमले महोत्सवको मुख्य आकर्षणको रूपमा स्थानीय हस्तकला, चित्रकला, मूर्तिकला, विभिन्न जातीय तथा धार्मिक संस्कृति झल्कने लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेशभूषा प्रदर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, पोखराका विभिन्न साहसिक गतिविधि र खेलहरू समेटिएको वृत्तचित्र, बहस, अन्तर्क्रियासँगै अन्य विभिन्न कार्यक्रमहरू प्राथमिकतासाथ प्रदर्शन गरिने बताए।

रेवानका महासचिव वीरेन्द्र शेरचनका अनुसार मःम खाने, ससेज खाने, रस्साकसी, वेटर वेट्रेसहरूको चम्चा दौड, डुंगा दौडलगायतका प्रतियोगिताहरूसमेत महोत्सवका अवसरमा सञ्चालन हुनेछन्। आयोजकले यसअघि महोत्सवको प्रचारप्रसार एवं प्रवर्द्धन गर्ने उद्देश्यका साथ पूर्वका मुख्य सहरहरूमा पुगेर महोत्सवसँगै पोखरा घुम्नका लागि निमन्त्रणा दिई आएको उनले जानकारी दिए।

महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि र सहप्रायोजकमा यति डिस्ट्रिलरी, बोटलर्स नेपाल (तराई) र दि नेपाल डिस्ट्रिलरी प्रालि रहेका छन्। प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद्, बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक लिमिटेड छन् भने सहयोगीहरूमा म पानी, गृहलक्ष्मी ग्यास, अन्नपूर्ण केबलकार, रेडबुललगायत रहेका छन्।
 

सुझावित समाचार