लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५– इम्पावरिङ इन्टरप्राइजेज अभियानअन्तर्गत नेपालमा प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) नवप्रवर्तनको दायरा मजबुत बनाउन आद्ययन्त एड्भाइजरी प्रालि र अमेरिकन चेम्बर अफ कमर्स इन नेपालसँग सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ।
हाल सातौँ वर्षमा रहेको डिजिटल डिसेम्बर अभियान डिजिटल सचेतना अभियानका रूपमा सुरु भई उद्यम रूपान्तरणको एक रणनीतिक प्लाटफर्मका रूपमा विकसित भएको छ। यस संस्करणले उच्च मूल्य तथा उच्च परिमाणका व्यावसायिक कारोबारलाई नगद र चेकबाट सुरक्षित डिजिटल माध्यमतर्फ रूपान्तरण गर्ने, एपिआई तथा होस्ट टु होस्ट कनेक्टिभिटीमार्फत उद्यमीहरूको सञ्चालन प्रणालीहरूमा बैंकिङ सेवा जडान तथा एकीकृत गर्ने तथा डिजिटल प्लाटफर्मलाई व्यावसायिक भुक्तानीको प्राथमिक माध्यमका रूपमा स्थापित गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ।
समझदारीअन्तर्गत बैंकको उद्यम डिजिटलाइजेसन पहलबाट नवप्रवर्तनको विस्तार गर्दै प्रारम्भिक चरणका नवप्रवर्तक, स्टार्टअप तथा उद्यमीहरूलाई वास्तविक बैंकिङ पूर्वाधार र विषयगत विशेषज्ञतासँग जोडी पुँजी उपलब्धताका लागि तयार पार्ने उद्देश्य राखेको छ।
सम्झौताअन्तर्गत लक्ष्मी सनराइज बैंकले डिजिटल डिसेम्बर २०२५ का मुख्य आधारहरू एपिआई, प्लाटफर्म कनेक्टिभिटी र उद्यम तयारीसँग मेल खाने सहकार्य क्षेत्रहरू अन्वेषण गर्नेछ। यसमा नवप्रवर्तकहरूलाई उद्यम–सम्बन्धित डिजिटल समाधानहरूको प्रोटोटाइप विकासका लागि चुनिएका ओपन एपिआई वा स्यान्डबक्स वातावरणमा पहुँच, उच्च सम्भावना भएका उद्यमहरूसँग प्रारम्भिक चरणमै संलग्न भई बजार तयारी र विस्तार क्षमताको मूल्यांकन तथा डिजिटल वित्त, फिनटेकमा आधारित वृद्धि र स्टार्टअपलगायतका विशेषज्ञ सत्रहरू समावेश छन्।
यस सहकार्यले अमेरिकी दूतावासको समर्थनमा सञ्चालन हुने तीनवटा राष्ट्रव्यापी पहल– सिडिङ एन्ड स्केलिङ इनोभेसन्स, कोड फर इम्प्याक्ट ह्याकाथन्स र युएस–नेपाल कमर्सियल डिप्लोमेसी डिस्कसिङ सिरिजलाई समेत सघाउनेछ।