वाणिज्य बैंकको औसत लाभांश ८ प्रतिशत मात्रै, पाँच बैंकले नदिने

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण
  • बढ्दो गैरबैंकिङ सम्पत्ति, खराब कर्जा, नाफामा संकुचन, पुँजी पर्याप्तता र नियामकीय दबाबका कारण लाभांश वितरण प्रभावित
  • प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र सम्बन्धित बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुने
  • कुमारी, हिमालयन, प्रभु, इन्भेष्टमेन्ट मेगा र नेपाल बैंकले लाभांश नदिने, घोषणा गर्न बाँकी रहेको एनआइसी एसियाले गत वर्ष पनि दिएको थिएन लाभांश
  • सबैभन्दा बढी १४ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश दिने एभरेष्ट बैंकको घोषणा

गत आर्थिक वर्ष ०८१/८२ को नाफाबाट पाँच वाणिज्य बैंकले लाभांश नदिने भएका छन् । स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत १९ वटामध्ये हालसम्म एनआइसी एसियाबाहेक १८ बैंकले लाभांश घोषणा गरेका छन्, त्यसमा पाँच बैंकले लाभांश नदिने भएका हुन् ।

कुमारी, हिमालयन, प्रभु, इन्भेष्टमेन्ट मेगा र नेपाल बैंकले लाभांश नदिने भएका हुन् । घोषणा गर्न बाँकी रहेको एनआइसी एसिया बैंकले गत वर्ष पनि लाभांश दिएको थिएन । घोषणा गरेका बैंकहरूको लाभांश दर पनि कम छ । १८ बैंकको औसत लाभांश दर ८ प्रतिशत मात्रै देखिएको छ । 

बैंकहरूको बढ्दो गैरबैंकिङ सम्पत्ति, खराब कर्जा, नाफामा संकुचन, पुँजी पर्याप्तता र नियामकीय दबाबका कारण यस वर्ष लाभांश वितरण प्रभावित भएको देखिन्छ । बैंकर्स संघका पूर्वअध्यक्ष भुवन दाहालले गैरबैंकिङ सम्पत्ति र खराब कर्जाका कारण यस्तो परिस्थिति बनेको बताए । 

‘बैंकहरूमा गैरबैंकिङ सम्पत्ति बढेको छ । खराब कर्जामा प्रोभिजनिङ उच्च छ । त्यसले गर्दा बैंकको नाफा प्रभावित भएको छ । त्यसले गर्दा लाभांश क्षमता पनि कमजोर भएको हो,’ उनले भने, ‘बैंकहरूको लाभांश क्षमता बढाउन गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्नुपर्छ । घरजग्गा कारोबार चलायमान भयो भने गैरबैंकिङ सम्पत्ति बिक्री हुन सक्छ । यस्तै, कर्जा असुली पनि हुनुपर्छ । त्यसपछि बैंकहरू लाभांश वितरण गर्न सक्छन् ।’

बैंकहरूले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको स्वीकृति तथा सम्बन्धित बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ । तथ्यांकअनुसार एभरेष्ट बैंकले सबैभन्दा बढी १४ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ । त्यसपछि स्ट्यान्डर्ड चार्टर्ड बैंकले १९ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै उच्च लाभांश दिने बैंकको सूचीमा दोस्रो स्थानमा रहेको छ । कृषि विकास बैंकले ९.७५ प्रतिशत नगद र ३.२५ प्रतिशत बोनस सेयर गरी कुल १३ प्रतिशत लाभांश घोषणा गरेको छ ।

गैरबैंकिङ सम्पत्ति बढ्दा लाभांश वितरण प्रभावित भएको छ : भुवन दाहाल, पूर्वअध्यक्ष, बैंकर्स संघ
बैंकहरूमा गैरबैंकिङ सम्पत्ति बढेको छ । खराब कर्जामा प्रोभिजनिङ उच्च छ । त्यसले गर्दा बैंकको नाफा प्रभावित भएको छ । त्यसले गर्दा लाभांश क्षमता पनि कमजोर भएको हो ।

बैंकहरूको लाभांश क्षमता बढाउन गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्नुपर्छ । घरजग्गा कारोबार चलायमान भयो भने गैरबैंकिङ सम्पत्ति बिक्री हुन सक्छ । यस्तै, कर्जा असुली पनि हुनुपर्छ । त्यसपछि बैंकहरू लाभांश वितरण गर्न सक्छन् ।

सुझावित समाचार