सिराहाको लहान र धनगढी बजार क्षेत्र अनुगमनमा नियमविपरीत कारोबार गरिरहेका व्यापारीहरूलाई आर्थिक जरिवानासहित सचेतीकरण गरिएको छ ।
वीरगन्जबाट खटिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र जिल्लास्थित इलाका प्रशासन कार्यालय, लहान र घरेलु तथा साना उद्योग कार्यालयलगायतको संयुक्त अनुगमन टोलीले बुधबार धनगढी बजारको अनुगमनमा जरिवाना गरेको हो ।
अनुगमनका क्रममा म्याद गुज्रिएका उपभोग्य सामग्री नष्ट गरिनुका साथै व्यवसाय गर्न लिएको अनुमतिबाहेकका वस्तु बिक्री–वितरण गर्ने पसललाई कारबाही गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, वीरगन्जका अधिकृत सुनील चौरसियाले जानकारी दिए ।
संयुक्त टोलीले अनुगमनका क्रममा लहान– ६ स्थित प्रेम ट्रेडर्सलाई १० हजार जरिवाना गरेको र लहान– ६ को रमजान किराना स्टोर, विशाल किराना, खुस्बु किराना र राधा जनरल सप्लायर्सलाई पाँच–पाँच हजार जरिवाना गरेको छ । त्यसक्रममा जयमाँ किराना पसललाई भने सामान्य सचेतीकरण गरेर छोडिएको कार्यालयले जनाएको छ ।