अमेरिकी डलरको भाउ निरन्तर वृद्धि हुँदा वैदेशिक ऋण भुक्तानीमा ७७ अर्ब ६६ करोड ८५ लाख रुपैयाँको व्ययभार थपिएको छ । अर्थ मन्त्रालयमातहतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले चालू आर्थिक वर्ष ०८२/८३ को मंसिर मसान्तसम्म सरकारले लिएको वैदेशिक तथा आन्तरिक ऋणको आकार सार्वजनिक गर्दै सो कुराको जानकारी दिएको हो । गत आर्थिक वर्ष ०८१/८२ को अन्त्यसम्म विदेशी ऋणको आकार १४ खर्ब पाँच अर्ब ८२ करोड ३६ लाख रुपैयाँ थियो । चालू आवको पाँच महिनामा सरकारले २७ अर्ब ४५ करोड ६२ लाख रुपैयाँबराबरको विदेशी ऋण थपेको छ भने २४ अर्ब चार करोड ७३ लाख रुपैयाँ विदेशी ऋण भुक्तानी गरेको छ ।
कार्यालयका अनुसार पाँच महिनायता विदेशी ऋण थप्ने र किस्ता तिर्ने गरेरसमेत मंसिर मसान्तसम्म वैदेशिक ऋणको दायित्व १४ खर्ब ८६ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । पछिल्लो समय डलरको मूल्य बढेको हुँदा ७७ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ ऋण दायित्व थप भएको कार्यालयले जनाएको छ ।
मंसिर मसान्तसम्ममा सार्वजनिक ऋणको आकार २७ खर्ब ८८ अर्ब ५३ करोड २१ लाख रुपैयाँ पुगेको छ । त्यसमा विदेशी ऋण १४ खर्ब ८६ अर्ब ९० करोड रुपैयाँ र स्वदेशी ऋण १३ खर्ब एक अर्ब ६३ करोड १० लाख रुपैयाँ छ । गत असार मसान्तसम्म सरकारको कुल ऋण २६ खर्ब ७४ अर्ब चार करोड ७७ लाख रुपैयाँ थियो ।
चालू आवको पाँच महिनामा सरकारले एक खर्ब ७५ अर्ब १२ करोड ३१ लाख रुपैयाँ ऋण लिएको छ । एक खर्ब ३८ अर्ब ३० करोड ७३ लाख रुपैयाँ साँवा भुक्तानी गरेको छ । त्यसमा विदेशी मुद्राको मूल्य बढ्दा थप भएको ७७ अर्ब ६६ करोड ८५ लाख रुपैयाँ दायित्व समायोजन गर्दा कुल ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड २१ लाख रुपैयाँ पुगेको हो ।