महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवर्द्धन, पूर्वाधार निर्माण–सुधार, दिगो विकास लक्ष्य, मानव सेवा तथा परोपकारजस्ता विभिन्न क्षेत्रहरूमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रम सञ्चालन गर्ने नीतिअनुरूप आर्थिक वर्ष ०८२/८३ को पहिलो त्रैमास तथा दोस्रो त्रैमासको कात्तिक र मंसिरमा विभिन्न्न कार्यक्र सम्पन्न गरेको छ।
बैंकले ज्येष्ठ नागरिक चौतारी, ठेचो, ललितपुरलाई सुदूरपश्चिम प्रदेशको हुम्ला जिल्लाका ज्येष्ठ नागरिकहरूको पूर्ण स्वास्थ्य परीक्षणसहितको स्वास्थ्य शिविर सञ्चालन गर्न तथा नसर्ने रोगहरूको रोकथामसम्बन्धी कार्यशाला सम्पन्न गर्न आर्थिक सहयोग गरेको जनाएको छ।
त्यसैगरी, भदौ महिनामा आन्दोलनको क्रममा क्षतिग्रस्त भएको प्रहरी वृत्त सातदोबाटोलाई दैनिक प्रशासनिक कार्य गर्नका लागि पाँच थान कम्प्युटर सेट तथा पाँच थान टेबल प्रदान गरेको छ। साथै, हुम्ला सदुरमुकाम सिमकोटदेखि ४४ कोष दक्षिण–पूर्वको अदानचुली गाउँपालिका– १ का ६५ घरधुरीका दलित समुदायमा रहेका हलिया, लगी र खलोको रूपमा जीविकोपार्जन गरिरहेको विपन्न वर्गका मानिसहरू, अनाथ बालबालिका, एकल महिला, एकल पुरुषहरूलाई खाद्यान्न पुर्याउने गरी एकीकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र, सिमकोट हुम्लालाई आर्थिक सहयोग गरेको छ।
बागलुङको जिल्लामा रहेका भुकृटी माध्यमिक विद्यालय र सल्यान सुखौरा माध्यमिक विद्यालय, झापा जिल्लामा रहेको पृथ्वी माध्यमिक विद्यालय र अरनिको माध्यमिक विद्यालय, गणेशसूर्य आधारभूत विद्यालयमा आधुनिक शौचालय निर्माण गर्ने गरी विभिन्न रोटरी क्लबहरूमार्फत आर्थिक सहयोग गरेको छ।
साथै, बालकुमारी आधारभूत विद्यालय, सैंबु, ललितपुरमा अध्ययतरत १८० जना विद्यार्थीलाई जाडोबाट बच्नका लागि १८० थान न्यानो कपडा वितरण गरेको बैंकले जनाएको छ। त्यसैगरी, गोरखा जिल्लाका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मुनलाइट सोसाइटी नेपाल, गोरखाको सहकार्यमा विभिन्न शैक्षिक सामग्रीहरु वितरण गरिएको छ।