साउन र भदौमा बढेको एफडिआई असोज लागेयता निरन्तर गिरावट

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनपश्चात् खस्कियो वैदेशिक लगानीको वातावरण

२३ र २४ भदौको जेन–जी आन्दोलनपश्चात् मुलुक भित्रिने प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धतामा कमी आएको छ । उद्योग विभागकाअनुसार साउन र भदौ महिनाको तुलनामा असोज, कात्तिक र मंसिरमा वैदेशिक लगानी प्रतिबद्धता घटेको हो ।

विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०८२/८३ को मंसिरसम्म ४ सय ३८ परियोजनामा ३८ अर्ब ५९ करोड ६६ लाख ४४ हजार रुपैयाँबराबरको प्रतिबद्धता आएको छ । साउन र भदौमा लगानी प्रतिबद्धता उच्च थियो तर असोज, कात्तिक र मंसिरमा भने घटेको छ । 

विभागका अनुसार साउनमा १ सय २७ परियोजनामा २४ अर्ब १० करोड ५० लाख रुपैयाँ र भदौमा १ सय ९ परियोजनामा आठ अर्ब ९८ करोड ७० लाख रुपैयाँ एफडिआई प्रतिबद्धता आएको थियो । तर, असोजमा ७५ परियोजनामा दुई अर्ब चार करोड ५७ लाख, कात्तिकमा ७१ परियोजनामा एक अर्ब ५४ करोड ३९ लाख र मंसिरमा ५६ परियोजनामा एक अर्ब ९१ करोड ४९ लाख रुपैयाँ मात्रै एफडिआई प्रतिबद्धता आएको छ । प्रतिबद्धताको तुलनामा न्यून मात्रामा लगानी आउने प्रवृत्ति छ । पछिल्लो समय प्रतिबद्धतामा समेत कमी आउँदा विदेशी लगानी नै भित्र्याउन नसक्ने जोखिम बढेको छ ।

सरकारी अधिकारी र विज्ञले जेन–जी आन्दोलनपश्चात् विदेशी लगानीकर्ताले नेपालमा लगानी गरेर जोखिम उठाउन नखोजेको बताएका छन् । आन्दोलनका क्रममा उद्योगीका निजी घरसँगै चन्द्रागिरि केबलकार, हिल्टन होटेल, भाटभटेनी सुपरमार्केटलगायतका व्यावसायिक प्रतिष्ठानमा आगजनी र तोडफोड हुँदा अन्तर्राष्ट्रिय लगानीकर्तामा नकारात्मक असर परेको विज्ञको टिप्प्णी छ ।

उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले जेन–जी आन्दोलनपछि वैदेशिक लगानी प्रतिबद्धतामा कमी आएको स्विकारे । ‘जति प्रतिबद्धता आएको छ, त्यो नराम्रो त होइन । तर, जेन–जी आन्दोलनपछि लगानीकर्तामा निराशा देखिएको छ । औद्योगिक क्षेत्रमा आक्रमण भयो । उद्योगीको घरमा पनि आक्रमण भयो । त्यो अवस्थामा विदेशी लगानीकर्ता पनि हचकेर बसेको अवस्था छ,’ उनले भने, ‘उहाँहरू पर्ख र हेरको अवस्थामा हुनुहुन्छ ।’

अर्थविद् केशव आचार्यले जेन–जी आन्दोलनपछि विदेशी लगानीकर्ताको मनोबल कमजोर भएको बताए । ‘जेन–जी आन्दोलनपछि विदेशी लगानीकर्तामा नेपालमा लगानी गर्नका लागि उत्साह छैन । यो अपेक्षित तथा प्रत्याशित नै हो । जसले यसअघि नै लगानी प्रतिबद्धता गरेका छन्, उनीहरूको लगानी पनि होल्ड हुने जोखिम छ,’ उनले भने ।

विदेशी लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा भएको उनले बताए । ‘मुख्य कुरा सुरक्षाको हो, पछिल्लो घटनाले लगानीको सुरक्षामा चुनौती देखायो । त्यसले लगानीकर्ता हच्किएको हुन सक्छन्,’ उनले भने, ‘अब चुनावपछि आउने सरकारले कस्तो नीति ल्याउँछ भनेर लगानीकर्ता पर्ख र हेरको अवस्थामा पनि देखिन्छन् ।’

राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले नेपालमा लगानीको वातावरण सुधार गर्ने काम नै नभएको बताए । ‘पछिल्लो समय विश्वभर नै लगानी प्रतिबद्धतामा कमी आएको छ । त्यसको असर पनि हो,’ उनले भने, ‘नेपालको हकमा भने ८–९ वर्षयता लगानीको वातावरण सुधार गरिएको छैन ।’

साना परियोजनामा धेरै प्रतिबद्धता
साउनदेखि कात्तिकसम्म साना ४ सय २३, मझौला आठ र ठुला सात परियोजनामा वैदेशिक लगानी प्रतिबद्धता आएको छ । 

कृषि क्षेत्रमा सबैभन्दा धेरै २१ अर्ब ८८ करोड ८० लाख रुपैयाँबराबरको प्रतिबद्धता आएको छ । १३ परियोजनामा सोबराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । पर्यटनमूलक क्षेत्रका १ सय ३५ परियोजनामा १० अर्ब १२ करोड २० लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । यस्तै, सेवा क्षेत्रका २८ परियोजनामा तीन अर्ब ३८ करोड ६० लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । 

उत्पादनमूलक क्षेत्रका २४ परियोजनामा एक अर्ब ९७ करोड २३ लाख रुपैयाँ, ऊर्जाको एउटा परियोजनामा १८ करोड ४२ लाख र खनिजको एउटा परियोजनामा चार करोड ५० लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ । संख्याका आधारमा सूचना प्रविधि क्षेत्रमा धेरै आकर्षण देखिएको छ । सूचना प्रविधिका २ सय ३६ परियोजना ९९ करोड ८९ लाख ८६ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ ।

See More On

सुझावित समाचार