- मंसिरदेखि सुरु भएको सिजन र यही समयमा सरकारले भूमिसम्बन्धी अध्यादेशमार्फत कित्ताकाट खोलेकाले घरजग्गा कारोबार चलायमान
मंसिरमा घरजग्गा कारोबार बढेको छ । मंसिरदेखि घरजगा कारोबारको सिजन सुरु हुने र यही समयमा सरकारले भूमिसम्बन्धी अध्यादेशमार्फत कित्ताकाट खोलेका कारण कारोबार बढेको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार मंसिरमा चालू आर्थिक वर्ष ०८२/८३ कै सबैभन्दा बढी कारोबार र राजस्व असुली भएको छ । विभागको तथ्यांकअनुसार मंसिरमा सबैभन्दा बढी ५१ हजार ६ सय ३२ लिखत पारित भएको छ भने चार अर्ब ८४ करोड ८१ लाख ५४ हजार ८ सय ३२ रुपैयाँ राजस्व संकलन भएको छ । साउनमा केही सुधारिएको घरजग्गा कारोबार भदौ, असोज र कात्तिकमा ओरालो लागेको थियो, तर मंसिर लागेयता पुन: चलायमान हुन थालेको छ ।
विभागका अनुसार साउनमा ३१ हजार ६ सय २१, भदौमा २७ हजार ४ सय ९४, असोजमा २३ हजार ३ सय ५३ र कात्तिकमा २८ हजार ३ सय ८३ वटा लिखत पारित भएको छ । त्यस्तै, साउनमा ३ अर्ब २८ करोड ९१ लाख ३८ हजार २ सय ४२, भदौमा ३ अर्ब १४ करोड ७ लाख १६ हजार ३ सय ३५, असोजमा २ अर्ब ७५ रोड ८५ लाख ५७ हजार ९ सय २७ र कात्तिकमा २ अर्ब ७४ करोड ५१ लाख ७२ हजार १ सय ९९ रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।
घरजग्गा कारोबार गर्दा सरकारले लिखत पारित, नामसारी, संशोधन, हाल साबिक, रोक्का, फुकुवा, अपार्टमेन्टको लिखत, जग्गादर्ता, दाखिल खारेज, मोहीहक कायम, मोहियानी हक नामसारी, मोही लगतकट्टा, जग्गा बाँडफाँड, प्रतिलिपि प्रक्रिया, गैरघरजग्गासम्बन्धी लिखत पारित र श्रेस्ता एकीकरण आयोजना फिर्ताको लिखत शीर्षकमा राजस्व लिने गरेको छ । त्यस्तै, गुठी अधीनस्थ जग्गाको लिखत पारित, नामसारी, दाखिला खारेज र जग्गा तथा सम्पदा संरक्षणबापत पनि कर संकलन हुने गरेको छ । यसमध्ये तुलनात्मक रूपमा लिखत पारित, रोक्का, फुकुवा र नामसारीबाट धेरै कर उठ्ने गरेको विभागको तथ्यांक छ ।
कारोबार चलायमान हुन थालेपछि जग्गा तथा आवास विकास महासंघले हदबन्दीका कारण बिक्री हुन नसकेको हाउजिङ तथा अपार्टमेन्ट बिक्री–वितरण सुचारु हुन थालेको र खरिदकर्ताले आफ्नो नाममा पास गरी लालपुर्जा पाउने स्थिति बनेको बताएको छ ।