रुपन्देही उद्योग संघले बुटवलमा गर्न लागेको १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। संघले ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने नाराका साथ पुस ३ गतेदेखि १७ गतेसम्म राष्ट्रिय औद्योगिक प्रदर्शनी आयोजना गर्दै छ।
संघले मंगलबार पत्रकार सम्मेलन गर्दै प्रदर्शनीको तयारी करिब पूरा भएको जानकारी गराएको छ। बुटवलस्थित अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने औद्योगिक प्रदर्शनीमा स्वदेशी उत्पादन, नयाँ प्रविधि, पर्यटन तथा कृषि उत्पादनसँग सम्बन्धित वस्तुका पाँच सय स्टल रहनेछन्।
संघका अध्यक्ष कृष्णप्रसाद पराजुलीले प्रदर्शनीमा छुट्टाछुट्टै १० वटा पेभिलियनमा स्वदेशी उत्पादनका विभिन्न स्टलहरू समावेश गरिने जानकारी दिए। निर्माणाधीन अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा हुन गइरहेको औद्योगिक प्रदर्शनीमा आधुनिकस्तरकै स्टल समावेश हुने र सजावटदेखि व्यवस्थापनसम्म अहिलेसम्म भएका प्रदर्शनीभन्दा धेरै भिन्न हुने उनले बताए। उनका अनुसार प्रदर्शनीमा नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको ‘मेक इन नेपाल’ अभियानलाई प्राथमिकताका साथ अगाडि बढाइनेछ।
प्रदर्शनीको मुख्य उद्देश्य नै स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्ने भएकाले प्रदर्शनीमा स्वदेशी उत्पादन मात्रै समावेश हुने पराजुलीले बताए। औद्योगिक प्रदर्शनीको तयारीका क्रममा बुधबार दिउँसो जनचेतनामूलक र्याली आयोजना गरिएको प्रचार संयोजक इ. किरण खरेलले जानकारी दिए। यसपटकको औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीको समन्वयमा फोटो प्रदर्शनीसमेत हुनेछ।
संघका महासचिव सुमन बस्यालले संघले २०४५ सालमा नेपालमै पहिलोपटक र २०५३ सालदेखि निरन्तर औद्योगिक प्रदर्शनी आयोजना गर्दै आइरहेको जानकारी दिए। औद्योगिक प्रदर्शनीको माध्यमबाट स्वदेशी उत्पादनलाई उपभोक्तासँग सोझो सम्पर्क स्थापना गराउँदै नयाँ उद्योग स्थापनाका लागि प्रोत्साहन र औद्योगिक सम्भावनाको खोजीमा टेवा पुग्ने विश्वास गरिएको छ।
प्रदर्शनीमा गोष्ठी तथा अन्तर्क्रियासमेत आयोजना हुने छन्। करिब ८ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको प्रदर्शनीमा ३० करोडबराबरको कारोबार हुने अनुमान गरिएको छ।