झन्डै दशकपछि ठुला दरका भारतीय नोट नेपालमा खुला

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

सरकारले ठुला दरका भारतीय नोट चलनचल्तीका लागि खुला गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले भारतीय रुपैयाँ दुई सय र पाँच सयका नोट नेपालमा खुला गरेको हो । 

अहिले भारतमा एक सयमाथिका २००, ५०० र २००० दरका नोट छन् । यसअघि नेपालमा भारतीय एक सय र त्योभन्दा साना दरका नोट मात्रै खुला थियो, ठुला दरका नोट प्रतिबन्धित थियो । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारले ठुला दरका भारु नोट खुला गर्ने निर्णय गरेको जानकारी दिए । ‘सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपैयाँ दुई सय तथा भारतीय रुपैयाँ पाँच सय दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म भारतबाट नेपालमा भिœयाउन र नेपालबाट भारतमा लैजान सक्ने व्यवस्था गर्ने निर्णय भएको छ,’ मन्त्रिपरिषद्को निर्णय सुनाउँदै उनले भने । 

भारतले ८ नोभेम्बर २०१६ मा नोटबन्दी घोषणा गरेयता नेपालमा ठुला दरका भारु नचल्ने घोषणा गरिएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २३ कात्तिक ०७३ मा सम्बोधन गर्दै पाँच सय र एक हजार भारुका नोट नचल्ने घोषणा गरेका थिए । नेपालले पनि त्यसको भोलिपल्ट २४ कात्तिक ०७३ देखि भारु पाँच सय र एक हजारका नोट प्रतिबन्ध लगाएको थियो । त्यसको झन्डै एक दशकपछि नेपालमा ठुला दरका भारतीय रुपैयाँ चलनचल्तीका लागि खुला गरिएको हो । 

यसअघि भारतीय रिजर्भ बैंकले एक सय भारुमाथिको नोटको प्रयोग नेपालका लागि समेत खुलाएको थियो । भारतले १६ मंसिरमा राजपत्रमा सूचना प्रकाशित गर्दै भारु सय दरभन्दा माथिका नोट नेपालमा ल्याउन र नेपालबाट भारतमा लैजान खुला गरेको थियो । नेपालबाट आउजाउ गर्दा २५ हजार भारुसम्म यस्ता नोट बोक्न सकिने भारतीय रिजर्भ बैंकले जारी गरेको राजपत्रमा उल्लेख छ ।  

नोटबन्दीअघिका भारु अझै साटिदिएन
भारतले नोटबन्दी (डिमनिटाइजेसन) गरेको नौ वर्ष बितिसकेको छ । तर, नोटबन्दीअघि नेपालमा मौज्दात रहेको भारु भने भारतले अझै साटिदिएको छैन । नोटबन्दी घोषणा गर्नुपूर्व नै नेपालको केन्द्रीय बैंकमा रहेको आठ करोड १० लाख भारु नोट भने अझै नसाटिएको राष्ट्र बैंकले जनाएको छ । नोटबन्दीअघिको ठुलो दरका भारु पाँच करोड अझै केन्द्रीय बैंकमै रहेको तथा नसाटिएको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले पुष्टि गरे ।

राष्ट्र बैंकको सर्कुलरपछि चल्नेछन् नोट
सरकारले निर्णय गरिसकेपछि अब नेपालमा तोकिएका भारु दुई सय र पाँच सय दरका नोट वैधानिक भएका छन् । यद्यपि, चलनचल्ती र सटही सुविधाका लागि भने राष्ट्र बैंकले सर्कुलर जारी गर्नुपर्ने हुन्छ । अब राष्ट्र बैंकले भारु दुई सय र पाँच सय दरका नोटको सटही सुविधा दिने भनेर सूचना जारी गर्ने तथा बैंक तथा वित्तीय संस्थालाई सटही सुविधा दिनु भनेर सर्कुलर जारी गर्ने राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए । ‘मन्त्रिपरिषद्को निर्णयसँगै तोकिएको भारु दुई सय र पाँच सयको नोट नेपालमा वैधानिक मानिनेछ, तर चलनचल्ती तथा सटही सुविधा भने राष्ट्र बैंकको सूचनापछि मात्रै मिल्नेछ,’ उनले भने ।  
 

सुझावित समाचार