प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ‘ई–पोलिसी लोन’ सुरु गरेको छ । २८ मंसिरबाट स्थापनाको नवौँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले यो योजना ल्याएको जनाएको छ । कम्पनीका अनुसार यो योजनाअन्तर्गत डिजिटल माध्यमबाट बिमालेख धितो राखी ऋण लिन पाइनेछ । कम्पनीका सञ्चालक वीरेन्द्रजंग पाण्डे, सम्झना अर्याल, सुसन शेरचन, शमशेर पराजुली र भावना बलायरका साथै प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंलगायतले ‘ई–पोलिसी लोन’ सुरुवात गरेका हुन् ।
सिइओ प्रसाईंले ‘डिजिटल रूपान्तरणका पाइला’का रूपमा कम्पनीले बिमा क्षेत्रलाई आधुनिक प्रविधि अपनाएर अगाडि बढाएको बताए । उनले जुनसुकै स्थानबाट सहज सेवा प्रवाह गर्न यो पोलिसी ल्याइएको स्पष्ट पारे ।यद्यपि, यो सेवा लिन बिमालेख कम्तीमा तीन वर्ष पूरा भएको, तीन वर्षको बिमाशुल्क तिरेको र बिमालेख चालू रहेको हुनुपर्नेछ भने केवाइसी तथा बैंक अकाउन्ट अद्यावधिक भएको हुनुपर्ने कम्पनीको भनाइ छ । सेवा कम्पनीकोे वेबसाइट तथा एप दुवैमा उपलब्ध हुने बताइएको छ । ‘ई–पोलिसी लोन’का साथै एआई च्याटबट, डायनामिक क्युआर, लग इन पोर्टल पनि सुरु गरिएको कम्पनीले जनाएको छ ।
त्यसैगरी, वार्षिकोत्सवकै अवसर पारेर कम्पनीले तिखेदेवल, ललितपुरमा निःशुल्क मुटुरोग जाँच शिविर सञ्चालन गरेको छ । ओम अस्पतालका विशेषज्ञ डा. दिवाकर पराजुली नेतृत्वकोे १० सदस्यीय टोलीले बिरामीको मुटुको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा सहभागीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको प्रभु महालक्ष्मी लाइफले जानकारी दिएको छ । शिविरबाट पाँच सयभन्दा बढी स्थानीय लाभान्वित भएको कम्पनीले जनाएको छ । यससँगै प्रभु महालक्ष्मी लाइफले देशैभरिका एक सय १५ शाखा तथा उपशाखा कार्यालयमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको छ ।