इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदारका रूपमा काम गर्न जाने गरी आवेदन दिएकामध्ये १० युवा छनोट भएका छन् । उनीहरूलाई केयर गिभरका रूपमा रोजगारी दिने गरी इजरायलको रोजगारदाता कम्पनीबाट करार सम्झौता पत्रसमेत आएको वैदेशिक रोजगार विभागले जनाएको छ ।
सम्झौतापत्र आएका युवालाई इजरायल पठाउन तथा भिसा प्रक्रियाका लागि इजरायली दूतावासको कन्सुलर डिभिजनमा समेत पठाउने प्रयोजनका लागि सोमबार बिहान साढे १० बजे विभागमा उपस्थित हुन परिपत्रसमेत गरेको विभागले जनाएको छ ।
विभागमा उपस्थित हुँदा म्याद बहाल रहेको प्रहरी चारित्रिक प्रमाणपत्रको सक्कल र सोको प्रतिलिपि, सक्कल राहदानी र सोको प्रतिलिपि, पासपोर्ट साइजको हालसालै खिचेको रंगीन फोटो र पुरानो मेडिकल रिपोर्टको प्रतिलिपि तथा त्यसअघिको स्वास्थ्य परीक्षण गरिएका स्वास्थ्य संस्थाबाट पुनः स्वास्थ्य परीक्षण गराई मेडिकल रिपोर्टको प्रतिलिपिसमेत लिएर उपस्थित हुन विभागले सूचना जारी गरेको छ ।
छनोट भएका युवाहरूको इमेल ठेगानामा इजरायली रोजगारदाताले पठाएको करार सम्झौता, स्वयं घोषणापत्र र बिमासम्बन्धी कागजात विभागले पहिले नै पठाएकाले राम्ररी अध्ययन गर्न पनि सुझाव दिइएको छ । इजरायलको केयर गिभरमा सरकारीस्तरबाट सम्झौता भई नेपाली युवा श्रमका लागि जाने गरेका छन् । सम्पूर्ण छनोट प्रक्रिया नेपालस्थित इजरायली दूतावासको समन्वयमा विभागले गर्दै आएको छ ।