साउना स्टिम बाथ सुविधासहित जुम्लामा होटेल सञ्चालन

आइतबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

कर्णाली प्रदेशको राजधानी सुर्खेतपछिको दोस्रो ठुलो सहर जुम्लामा साउना स्टिम बाथ सुविधासहित होटेल सञ्चालन गरिएको छ । पर्यटन भूगोल र जनसंख्याको हिसाबले पनि सुर्खेतपछि जुम्ला दोस्रो ठुलो सहर हो । 

कर्णाली प्रदेशकै ठुलो पर्यटकीय क्षेत्र मुगु जिल्लास्थित रारा तालमा पर्यटकहरू पनि जुम्लाबाटै पुग्ने गर्दछन् । देशभरका विद्यार्थी शैक्षिक पर्यटकीय क्षेत्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्राविधिक शिक्षालय पनि यही जिल्लामा रहेकाले साउना स्टिम बाथसहित होटेल सञ्चालन हुन थालेका हुन् । 

नेसनल ग्रिडसहित स्थानीय स्तरमै करिब एक मेगावाटको चुकेनी जलविद्युत् आयोजना पनि सञ्चालनमा आएपछि होटेल व्यवसाय क्षेत्रमा लगानी थपिँदै गएको हो । कठिन भूगोलबिच जुम्ला पुग्ने बाह्य पर्यटक तथा जिल्लाका ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गर्न विभिन्न नयाँ सेवा–सुविधासहित होटेल क्षेत्रमा लगानी बढ्दै गएको हो । 

हिमाली भूगोल, चिसो मौसम पर्यटकले भोग्नुपरेको कठिनाइलाई मध्यनजर गर्दै जुम्लामै पहिलो साउना स्टिम बाथ सुविधासहितको नयाँ होटेल सञ्चालनमा आएको छ । चन्दननाथ नगरपालिका– ६ स्थित सुविधासम्पन्न होटेल रोयल कर्णाली प्यारेडाइज इन प्रा.लि.ले साउना र स्टिम बाथ सुविधासहितको होटेल सञ्चालनमा ल्याएको हो । 

बाह्रै महिना चिसो हुने जुम्लाको मौसम प्रतिकूलता, पर्यटकहरूको चाहनालाई मध्यनजर गरी पाँच करोडभन्दा बढीको लगानीमा सुविधासम्पन्न होटेल सञ्चालनमा ल्याइएको सञ्चालक जुनी शाह महतले बताइन् ।

याे साउना स्टिम बाथसहितको सुविधा भएको कर्णालीमै पहिलो होटेल हो । यसले कर्णालीको कठिन भूगोलमा यात्रा गरेर थकित पर्यटकको थकान मेटाउने छ । उनले भनिन्, ‘यो होटेल हाम्रो ड्रिम प्रोजेक्ट हो । यो सुरुवात पनि हो । भविष्यमा ठुला व्यावसायिक योजना पनि बनाएका छौँ  । सुरुवात होटेल व्यवसायबाट गरेका छौँ ।’ 

होटेलको दुईवटा भवन निर्माण, भित्री कोठाहरूको व्यवस्थापन, साउना स्ट्रिम बाथको मेसिन खरिद जडान, होटेलको डेकुरेसन, रङरोगनलगायत गरी पाँच करोड लगानी भएको सञ्चालक महतले जानकारी दिइन् । उनका अनुसार साउना स्टिम बाथ सेवा सञ्चालनका लागि मात्रै झन्डै ५० लाख लगानी भएको छ ।

होटेलमा २५ वटा एटेच (चिसो–तातो पानी आउने कोठा, सुविधायुक्त तालिम सेमिनार हल, दुईवटा क्याबिन, बारसहितको सुविधा छ । होटेल निर्माणका क्रममा दर्जनौँले ज्याला–मजदुरीमा काम पाएका थिए । अब होटेल सञ्चालनपछि प्रत्यक्ष रूपमा १० जनाले रोजगारी पाउनेछन् ।

काठमाडौंको कन्सल्टेन्सीबाट कुक, वेटरलगायतका १० जना कर्मचारी ल्याइने भएको छ । होटेलको विधिवत् उद्घाटन शुक्रबारदेखि भए पनि ओैपचारिक फुलफेज सेवा सञ्चालन पुस ४ गतेबाट हुनेछ । केही वर्षभित्र जुम्लाकै पहिलो पार्टी प्यालेसका रूपमा समेत विस्तार गर्ने लक्ष्य छ । 

कोरोना महामारी, जेन–जी आन्दोलनले अर्थतन्त्र र पर्यटन क्षेत्र थलिएको अवस्थामा नयाँ सुविधासहित आशाको किरण बोकेर होटेल व्यवसायमा लगानी बढाएको होटेल रोयल कर्णाली प्यारेडाइज इन प्रा.लि. जुम्लाले निजी क्षेत्रको मनोबलसमेत बढाएको छ ।

जुम्लामा सिजनमा आन्तरिक तथा बाह्य पर्यटकको थेगिनसक्ने भिड हुन्छ । पर्यटकको बसाइ लम्ब्याउन होटेलकाे सुविधा आवश्यक थियो । जुम्लाको पर्यटन विकास र आर्थिक समृद्धिको आशा पलाएको छ । यसले दिने स्टिम साउना र बाथ सेवाले पर्यटक तान्ने अपेक्षा पनि गरिएको छ । अर्गानिक खान्कीले यसै पनि पर्यटक लोभिन्छन् । अन्य सुविधा त्यस्तै बढेपछि पर्यटक राहत पनि मिल्नेछ । 

पेसाले शिक्षक रहेका होटेल सञ्चालक हरिकृष्ण महत जुम्लाकै उत्कृष्ट जनता माविका प्रधानाध्यापक हुन् । वर्षौँ पहिलेदेखि होटेल सञ्चालनको हुटहुटी बोकेर अघि बढेका उनले सिद्धार्थ बैंकबाट व्यावसायिक ऋण लिएर जुम्लाकै सुविधासम्पन्न होटेल सञ्चालन गर्ने सपना पूरा गरेका छन् ।

जुम्लामा होटेल क्षेत्रमा बढ्दै गएको लगानीले यहाँको कृषि उत्पादन सिमी, मार्सी चालम, तरकारी फलफूलले बजार र मूल्य पाउने अपेक्षा छ । जिल्लामा चार दर्जनभन्दा बढी साना–ठुला होटेल छन् ।

सुझावित समाचार