कैलालीको चिसापानीदेखि राजकाँडासम्म जालपादेवी केबलकार आगामी वैशाखबाट सञ्चालन गर्ने लक्ष्यसहित निर्माणकार्य तीव्र पारिएको छ । निजी क्षेत्रको करिब सात अर्ब लागतमा चिसापानीदेखि राजकाँडासम्म तीन किलोमिटर लामो केबलकार निर्माण हुँदै छ ।
केबलकारसँगै तारे होटेल, क्यासिनो, जिपलाइन, स्काई साइकलिङ, पार्टी प्यालेसजस्ता पर्यटकीय संरचना बनाउने योजना रहेको केबलकार निर्माण आयोजनाका व्यवस्थापक विजय पौडेलले जानकारी दिए । उनका अनुसार यो सुदूरपश्चिममा निजी क्षेत्रबाट बन्न लागेको हालसम्मकै ठुलो लगानीको पर्यटन पूर्वाधार हो ।
पहिलो चरणमा केबलकारको काम भइरहेको र दोस्रो चरणमा तारे होटेल, क्यासिनोलगायतका संरचना निर्माण गरिने उनको भनाइ छ । ‘आउने वैशाखबाट केबलकार सञ्चालन गर्ने गरी निर्माणकार्य तीव्र रूपमा भइरहेको छ,’ उनले भने, ‘पहिलो चरणमा केबलकारको काम सकिएपछि दोस्रो चरणका होटेल, पार्टी प्यालेस, क्यासिनोलगायत संरचना निर्माण गर्ने योजना छ ।’
केबलकारका लागि आवश्यक १४ वटा टावर र ३४ वटा गोन्डुला निर्माणको काम अन्तिम चरणमा पुगेको छ । केबलकारको स्टेसन, दुवैतर्फ रेस्टुरेन्ट, राजकाँडामा जालपादेवी मन्दिरलगायत संरचना पनि धमाधम निर्माण भइरहेका छन् । केबलकार निर्माण आयोजनाका स्टेसन म्यानेजर हरिओम खड्काका अनुसार राजकाँडामा चारतारे होटेल, मन्दिरसँगै जिपलाइन, स्काई साइकलिङजस्ता एड्भेन्चर पर्यटनका संरचना निर्माण गरिनेछन् । त्यस्तै, चिसापानीमा पाँचतारे होटेल, क्यासिनो र पार्टी प्यालेसलगायत संरचना निर्माण गरिनेछ ।
केबलकारका संरचना निर्माणमा मात्र साढे दुई अर्ब लाग्ने खड्काले बताए । जालपादेवी केबलकारमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका व्यवसायी चन्द्र ढकाल, स्थानीय व्यवसायी सूर्य थापासहितको लगानी छ । सीमावर्ती भारतीय क्षेत्रका पर्यटकसमेतलाई लक्षित गरेर कैलालीको प्रमुख पर्यटकीय गन्तव्य चिसापानीमा केबलकार निर्माण सुरु गरिएको हो । निर्माण कम्पनीका अनुसार केबलकारको एकतर्फी यात्रा करिब १० मिनेटको हुनेछ ।