नेपाल र भियतनामका व्यवसायीबिच आर्थिक सन्बन्ध विस्तारबारे छलफल

बिहिबार, २६ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाल र भियतनामबिच दौत्य सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको अवसरमा नेपाल र भियतनामका व्यवसायीबिच आर्थिक सन्बन्ध विस्तार गर्ने विषयमा छलफल भएको छ।

बिहीबार भियतनामको राजधानी हनोइमा भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीसँगको छलफलमा नेपाली व्यवसायीहरुले नेपालमा पर्यटन, जलविद्युत्, कृषिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानीका लागि आग्रह गरे।

सो अवसरमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले भियतनामका लगानीकर्तासमक्ष नेपाल र भियतनामबिच थप आर्थिक सहकार्यलाई अगाडि बढाउन आग्रह गरे।

‘दुई देशबीच आर्थिक सहकार्यको क्षेत्रमा  ठूलो सम्भावना छ, म भियतनामका लगानीकर्तालाई नेपालमा लगानीका लागि आग्रह गर्दै नेपालबाट निर्यातको ठूलो सम्भावना रहेको जानकारी गराउन चाहन्छु’, उनले भने, ‘नेपालमा हस्तकला, चिया, कफी, जडीबुटीजस्ता उत्पादनको भियतनाममा राम्रो बजार सम्भावना भएकाले त्यसतर्फ पनि लगानी बढाउन म आग्रह गर्दछु।’

अध्यक्ष ढकालले दुई देशका अर्थतन्त्र एकआपसमा पूरक बन्न सक्ने बताए। भियतनाममा कृषि उत्पादन, सी फूड, इलेक्ट्रोनिक्सलगायतका उत्पादनको नेपाली बजारमा सम्भावना रहेको पनि उनको भनाइ थियो। उनले भियतनामी टोलीलाई महासंघको आगामी वार्षिक साधारणसभामा सहभागी हुन र नेपालको व्यवसायिक वातावरण प्रत्यक्ष अवलोकन गर्नका लागि पनि निमन्त्रणा दिए।

भियतनामी चेम्बर अफ कमर्श इन्डष्ट्रीका उपकार्यकारी अध्यक्ष न्गुयेन क्याङ भिनले आफूहरु पनि नेपालसँग थप आर्थिक साझेदारीका लागि इच्छुक रहेको बताए। दुई देशबीच लगानी र व्यापारका क्षेत्रमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले आर्थिक साझेदारीलाई थप मजबुद बनाउनुपर्नेमा जोड दिए।

त्यस अवसरमा थाइल्याण्ड तथा भियतनामका लागि नेपाली राजदूत धनबहादुर ओलीले नेपालमा विभिन्न क्षेत्रमा लगानीको ठूलो सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी बढाउनका लागि आग्रह गरे। दुवै देशले व्यापार र लगानीका क्षेत्रमा भएको सम्भावना सदुपयोग गर्नुपर्नेमा उनको जोड थियो। पछिल्लो समय विश्वको अर्थतन्त्रमा नयाँ नयाँ चुनौती देखिएको उल्लेख गर्दै उनले दुवै देशले एकापसमा आर्थिक सहकार्य बढाउँदै लाभ लिनसक्नुपर्ने बताए।

सुझावित समाचार