नेपाल निर्माण व्यवसायी महासंघले विविध कार्यक्रम गरी राष्ट्रिय निर्माण दिवस मनाएको छ । यसै अवसरमा महासंघले सोमबार राजधानीमा प्रभातफेरी तथा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको प्रभातफेरी थापाथली, माइतीघर मण्डला, बबरमहल हुँदै महासंघ सचिवालय अनामनगर पुगी समापन भएको थियो । प्रभातफेरीको उद्घाटन गर्दै सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले ठेक्का तोड्दैमा निर्माण उद्योगको समस्या समाधान नहुने धारणा राखे ।
त्यस्तै, नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण उद्योगको समस्यालाई राज्यले गम्भीर रूपमा नलिँदा एकपछि अर्को समस्या उत्पन्न भइरहेको बताए ।
पछिल्लो समय सरकारले हचुवाका भरमा ठेक्का तोड्दा निर्माण उद्योग इतिहासकै सबैभन्दा कठिन मोडमा पुगेको अध्यक्ष सिंहको भनाइ थियो । त्यस्तै, महासंघकै प्रायोजनमा आज तिनकुनेस्थित निसहाय सेवा सदनमा आश्रित वृद्धवृद्धालाई कम्बल पनि वितरण गरिएको छ ।