अन्डाको भाउ प्रतिक्रेट (३० वटा) ६ सय रुपैयाँ पुगेको छ । लेयर्स कुखुरापालक संघको सोमबार बसेको बैठकले मंगलबारदेखि लागू हुने गरी ठुलो अन्डा प्रतिक्रेट पाँच सय ६५ रुपैयाँ तोकेको छ । उक्त मूल्य चितवनको अन्डा उत्पादक किसानलाई लक्षित गरी निर्धारण गरिएको हो ।
सो भाउ निर्धारण गर्दा नै संघले चितवनबाट लोड भई देशभरको अन्डा बिक्री डिपोमा पुर्याउँदाको ढुवानी भाडा, कार्टुन, क्रेटसहित प्रतिपेटी एक सय ३० रुपैयाँ थप लागत जोड्न पाउने जनाएको छ । एक पेटीमा सात क्रेट हुन्छ । त्यसैले ढुवानी, कार्टुन र क्रेट खर्चबापत प्रतिक्रेट १८.५७ रुपैयाँ थप खर्च लाग्नेछ ।
यद्यपि, उक्त खर्चबापत सरदर २० रुपैयाँ जोड्ने गरिन्छ । किसानले पाउने प्रतिक्रेट पाँच सय ६५ रुपैयाँ र ढुवानी खर्चबापत प्रतिक्रेट २० रुपैयाँ जोड्दा लागत पाँच सय ८५ रुपैयाँ पुगेको छ । उक्त लागत परेको अन्डाको बजारभाउ काठमाडौंको बजारमा प्रतिक्रेट ६ सय रुपैयाँसम्म पर्ने हुन्छ ।
कुखुरापालक संघ अध्यक्ष पोखरेलले जाडोको मौसममा अन्डाको खपत बढेको, तर उत्पादनमा खासै वृद्धि नभएकाले मूल्यमा चाप परेको बताए । ‘जाडो मौसम भएकाले अन्डाको खपत उच्च छ, तर उत्पादनमा सुधार हुन सकेको छैन,’ उनले भने । हाल दैनिक ३५–३६ लाख गोटा अन्डा उत्पादन भइरहेको उनले बताए । तर, माग भने ४० लाखदेखि ४२ लाख गोटा रहेको छ ।
मंसिर लागेयता बढ्यो एक सय १५ रुपैयाँ प्रतिक्रेट
मंसिर लागेदेखि चारपटक अन्डाको भाउ बढिसकेको छ । संघले २ मंसिरमा ठुलो अन्डाको भाउ प्रतिक्रेट चार सय ५० रुपैयाँ तोकेको थियो । लगत्तै ६ मंसिरमा बैठक बसेर पाँच सय पाँच रुपैयाँ पुर्याइएको थियो । त्यतिखेर एकैपटक प्रतिक्रेट ५५ रुपैयाँ मूल्य बढाइएको थियो ।
त्यस्तै, १२ मंसिरमा प्रतिक्रेट ४० रुपैयाँ बढाएर पाँच सय ४५ रुपैयाँ निर्धारण गरिएको छ । सोमबार पुन: मूल्यवृद्धिको निर्णय हुँदा प्रतिक्रेट पाँच सय ६५ रुपैयाँ पुगेको छ ।