प्रिमियमभन्दा कम बिमा रकम पाउने भएपछि स्याउ किसान आन्दोलित

प्रिमियम ३६ रुपैयाँ, बिमा पाउने २४ रुपैयाँ

मंगलबार, २४ मंसिर, २०८२
डिजिटल संस्करण

कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा धेरै जुम्लामा ४२ सय हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुने गरेको छ । ०२४ सालदेखि स्याउखेती सुरु गरिएको जुम्लामा स्याउको बिरुवा नरोपेको कुनै घरधुरी छैन । तर, जलवायु परिवर्तनका कारण पछिल्लो समय हरेक वर्ष स्याउ उत्पादनमा गिरावट आउने गरेको छ । गत वर्ष ६१ करोड रुपैयाँको स्याउ बिक्री गरेको जुम्लामा यस वर्ष ४५ करोडको मात्रै स्याउ बिक्री भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांक छ । 

हरेक वर्ष असिना, खडेरीका कारण स्याउ उत्पादन घट्न थालेपछि जुम्लाका पाँच हजार तीन सय ५० जना किसानले १२ लाख स्याउको बिरुवा बिमा गरेका छन् । जुम्लामा शिखर इन्स्योरेन्सले स्याउ बिमा गरेको छ । तर, बिमा गरेको प्रिमियम लागतभन्दा कम रकम क्षतिपूर्तिबापत पाउने भएपछि स्थानीय किसानहरू अचम्मित भएका छन् ।

तातोपानी गाउँपालिका– ६, हियाखोलाका किसान राजबहादुर रोकायाले बगैँचामा रहेको नौ सय स्याउका बिरुवामध्ये तीन सय ५० वटा बिरुवाको बिमा गरेका थिए । प्रतिबिरुवा ३६ रुपैयाँका दरले तीन सय ५० वटा बिरुवाको बिमा गरेका राजबहादुरले प्रतिबिरुवा २४ रुपैयाँ मात्रै पाउने भएपछि चकित परेका छन् । 

सोही गाउँपालिका– २, डाँगीवडाका पदमबहादुर डाँगीले पनि प्रतिबिरुवा ३६ रुपैयाँका दरले दुई सयवटा स्याउका बिरुवाको बिमा गरेका थिए । राजबहादुर र पदमबहादुरजस्तै तातोपानी गाउँपालिकाभित्रका सात सय ११ जना किसानले ५० हजार ६ सय ११ वटा बिरुवाको बिमा गरेका छन् । उनीहरूले प्रतिबिरुवा प्रिमियन लगानी ३६ रुपैयाँ गरेको भए पनि बिमाबापत प्रतिबिरुवा २४ रुपैयाँ मात्रै पाउने भएपछि आन्दोलित भएका छन् । यो समस्या सात दिनभित्र समाधान गर्ने चेतावनी दिँदै जिल्ला प्रशासन कार्यालय जुम्लामा आइतबार ध्यानाकर्षण पत्र बुझाएको स्याउ बिमापीडित पहल समितिका संयोजक पदमबहादुर डाँगीले बताए । उनले भने, ‘अन्य चन्दननाथ, गुठीचौर र तिला गाउँपालिकाभित्रका किसानले प्रतिबिरुवा दुई–तीन सय बिरुवा बिमा रकम बुझेका छन् । तर, तातोपानी गाउँपालिकाभित्रका किसानले भने बिमा प्रिमियमभन्दा पनि कम पाउनुपर्ने कारणसहितको प्रतिवेदन सार्वजनिक गर्न आग्रह गर्छौँ ।’ 

शिखर इन्स्योरेन्स कम्पनी जुम्लाका शाखा प्रमुख लक्ष्मण काफ्लेका अनुसार सरकारबाट बिमा अनुदान रकम प्राप्त गर्न बाँकी छ । सबै बिमा रकम किसानलाई वितरण गरिएको छैन ।  

सुझावित समाचार