हिउँद लागेसँगै काठमाडौं उपत्यकाका मुख्य सडक र फुटपाथ फेरि अस्तव्यस्त बन्न थालेका छन् । बर्खा सकिएलगत्तै धुलो, धुँवा र खाल्डाखुल्डी उपत्यकाका सडकमा देखिनु नौलो समस्या होइन । बर्खामा हिलाम्य र हिउँद लागेपछि धुलाम्य हुने उपत्यकाका सडकको विशेषता नै हो । एक ठाउँको सडक तथा फुटपाथ बनेको छ भने अर्को ठाउँमा भत्काउने क्रम वर्षौँदेखि चल्दै आएको छ । जसकारण सर्वसाधारणले ओहोरदोहोरमा हैरानी खेप्नुपरेको छ ।
उपत्यकाका सडक तथा फुटपाथ अस्तव्यस्त बन्नुको प्रमुख कारण सरकारी निकायहरूबिच समन्वयको खडेरी हो । एउटा निकायले काम गर्दा अर्को निकायसँग समन्वय नहुँदा पटक–पटक सडकमा प्रहार हुने गरेको छ । बिजुलीको तार भूमिगत, मेलम्चीको खानेपानी पाइप बिछ्याउँदा र अन्य फुटपाथ मर्मत गर्दा सरकारी निकायबिच समन्वय भएको पाइँदैन । सरकारी निकायबिच समन्वय नहुँदा पछिल्लो समय उपत्यकाका मुख्य सडक र फुटपाथ फेरि अस्तव्यस्त बनेका हुन् । सडक विभागमातहत नै रहेका सडक र फुटपाथ अहिले भत्काएर अस्तव्यस्त पारिएको छ । मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय, नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, काठमाडौं महानगरपालिकाबिच समन्वय नहुँदा यस्तो समस्या देखिएको हो ।
हाल नयाँबानेश्वर–मीनभवन क्षेत्रको सर्भिस लेन भताभुंग अवस्थामा छन् । यो सडकमा खानेपानीको पाइप र बिजुलीको तार भूमिगत गर्ने कार्य भइरहेको छ । तर, तीन महिनादेखि सर्भिस लेन सडक बन्द छ । त्यस्तै, सुन्धारा–जमल, चाबहिल–मित्रपार्क, बालुवाटार–लाजिम्पाट, शंखमूल–बानेश्वर, नयाँबानेश्वर–बुद्धनगरलगायत क्षेत्रको फुटपाथ तथा सर्भिस लेन सडकमा अवरोध छ । अझ भित्री सडकहरूमा समेत खानेपानीको पाइप फुट्दा सडक नै भत्किने समस्या बढेको छ । काठमाडौं उपत्यकाका सडकहरूमा सात वर्षदेखि खानेपानीको पाइप बिछ्याउने र बिजुलीको तार भूमिगतको कार्य जारी छ । तर, समयमै काम नसकिँदै संघीय राजधानी कुरूप बन्ने गरेको छ ।
सरकारी निकायकै लापरबाहीका कारण हिउँदयाममा खपिनसक्नु धुलो उड्ने गरेको छ । ठेकेदारले सडक तथा फुटपाथको काममा ढिलाइ गर्दा सर्वसाधारणले आवतजावतमा सास्ती खेप्नुपरेको छ । ‘अहिले फुटपाथ निर्माण र केही स्थानमा तार भूमिगतको काम भइरहेको छ, ठेकेदारले काम समयमै नगर्दा समयमै काम सकिएको छैन,’ सडक विभागका महानिर्देशक विजयी जैसीले भने, ‘विभागअन्तर्गत रहेका सडकमा काम सकाउन र समस्या हुन नदिन हामीले महानगरपालिका, खानेपानी र विद्युत् प्राधिकरणलाई भनिरहेका छौँ, तर कहिले पाइप फुट्ने, कहिले काम समयमै नसकिने हुँदा केही सडकमा समस्या छ ।’
जैसीका अनुसार पछिल्लो समय उपत्यकाका मुख्य सडकमा खानेपानीको पाइप फुट्दा हैरानी हुने गरेको छ । मुख्यत: चाबहिल चोकमा पटक–पटक खानेपानीको पाइप फुट्ने गरेको छ । खानेपानीकै पाइप फुट्दा विभागले नै कालोपत्र गरेको चिल्लो सडक खाल्डाखुल्डी बनेको छ । सडकमा खानेपानीका पाइप बिछ्याउँदा प्राविधिक त्रुटिसमेत हुँदा खानेपानीको पाइप फुुट्ने गरेको इन्जिनियरहरूले बताउने गरेका छन् । ‘खानेपानीको पाइप व्यवस्थित रूपमा राखिएको छैन, भैँसेपाटीको चिल्लो सडक त्यही कारणले बिग्रियो,’ जैसीले भने, ‘सडक भत्काउने र बिगार्ने भएकाले हामीले हेरेर अनुमति दिने गरेका छौँ, तर कतिपय ठाउँमा विभागको अनुमति नलिई काम भइरहेको हुन्छ ।’
करिडोर सडक पार्किङले अस्तव्यस्त
बल्लतल्ल कालोपत्रे भएका भित्री तथा करिडोर सडकले उपत्यकाका ट्राफिक व्यवस्थापनमा ठुलो राहत मिलेको छ । तर, तिनै करिडोर तथा भित्री सडकहरू पार्किङमा परिणत हुन थालेका छन् । मुख्य सडकमा हुने ट्राफिक जाम रोक्न भित्री तथा करिडोर सडकले सहायता पुर्याए पनि पछिल्लो समय उपत्यकाका अधिकांश करिडोर सडकमा पार्किङ गरिएको छ । जसकारण करिडोर सडकसमेत जाम हुने गरेका छन् ।
जेन–जी आन्दोलनपछि ट्राफिक प्रहरी करिडोर सडकमा व्यवस्थित रूपमा परिचालन नहुँदा चालकले मनपरी पार्किङ गर्ने गरेका छन् । आन्दोलनयता प्रहरीले जरिवानामा समेत कडाइ नगरेपछि अधिकांश चालकहरूले करिडोर सडकमै पार्किङ गर्ने समस्या बढेको हो । बागमती करिडोर, धोबीखोला करिडोर, विष्णुमती करिडोर र ललितपुरको कर्मनाशा करिडोर क्षेत्रमा बिहान र बेलुकीको समयमा बढी सवारीसाधन पार्किङ गरिएको हुन्छ । दिउँसोमा समेत ट्राफिक नपुगेको मौका छोपी पार्किङ गर्ने गरिएको छ ।
तार भूमिगत गर्दा लथालिंग पार्ने ठेकेदार कम्पनीलाई पाँच–पाँच लाख जरिवाना
तार भूमिगतमा ढिलाइ गर्ने, सडक लथालिंग पार्ने, निर्माण सामग्री छरपस्ट राख्ने ठेकेदार कम्पनीलाई काठमाडौं महानगरपालिकाले जरिवाना तिराएको छ । शुक्रबार महानगरपालिकाको नगरप्रहरीसहितको टोलीले तार भूमिगतको ठेक्का पाएको भारतीय निर्माण कम्पनी एलएनटी र केइआई निर्माण सेवा प्रालिलाई पाँच–पाँच लाख जरिवाना तिराएको हो । सडकमा ढुंगामाटो थुपार्ने, ठुलो खाल्डो पारेर ह्वांगै छाड्ने, तार भूमिगतपछि अलपत्र छाडिदिने गरेपछि कारबाही गरिएको नगर प्रहरी प्रमुख राजुराज पाण्डेले जानकारी दिए । उनका अनुसार सडक अस्तव्यस्त पार्ने र समयमा काम नगर्नेलाई अनुगमन गर्न महानगरपालिकाले घुमुवा टोलीसमेत परिचालन गरेको छ ।
‘जता पनि भत्काउने, निर्माण सामग्री फिजाउने, सडक भताभुंग पार्नेको कठालो समात्छौँ, काम गर्दा अत्यन्तै लापरबाही भएको छ, सेटिङमा मिलेर जनतालाई दु:ख दिने काम भइरहेको छ, महानगरले यस्तालाई कारबाही गर्छ,’ पाण्डेले भने, ‘जे–जे मापदण्ड पूरा गर्नुपर्ने थियो पूरा गरेको छैन, खाल्डो खनेर छाडेको छ, न त सुरक्षा नै अपनाइएको छ । बाटोमा माटो थुपार्ने, बेस नहाल्ने, मनपरी रूपमा काम गर्ने ठेकेदार कारबाहीमा पर्छन् ।’ उनका अनुसार हाल उपत्यकाका सडक अस्तव्यस्त र धुलाम्य हुनुको मुख्य कारण तार भूमिगतले हो । आवश्यक सुरक्षा र मापदण्ड पालना नगर्दा सडक नै अस्तव्यस्त हुने गरेको छ । प्रदूषण फैलिने हिउँदयाममा निर्माण काममा सावधानी नअपनाउँदा उपत्यकावासी धुलोले आक्रान्त हुने गरेका छन् ।
तार भूमिगतमा देखिएको समस्या समाधान गर्न मन्त्री घिसिङको निर्देशन

- तार भूमिगत गर्न बाँकी रहेको ठाउँमा तत्काल अघि बढाऔँ, अन्तिम समय यही हो । अहिले पनि काम गर्न सकिएन भने कहिल्यै काम हुँदैन । निर्माण कार्य सम्पन्न गरेपछि सडकमा देखिएको सडक मर्मतलगायतको काम तत्काल गर्नुहोला ।
उपत्यकाका तार भूमिगत तथा अन्य विकासका काम हुँदा समन्वय टड्कारो देखिएको भन्दै ऊर्जा, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले समन्वय गर्न निर्देशन दिएका छन् । आइतबार मन्त्रालयमातहतका निकायका प्रतिनिधिहरूलाई बोलाएर उनले सहरी विकासका कार्यमा समन्वय गर्न भनेका हुन् । यसअघि कतिपय काम समन्वयविना हँुदा भद्रगोल भएको र सडक नै बिग्रिएको भन्दै आइतबार छलफल भएको हो । तार भूमिगत गर्दा फिल्डमा थुप्रै समस्या देखिएको भन्दै काठमाडौं महानगरपालिका, सडक विभागलगायत निकायले विद्युत् प्राधिकरणको ध्यानाकर्षणसमेत गराउँदै आइरहेका छन् । आगामी दिनमा भूमिगत तारको काम हुँदा समन्वय गर्न विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक, काठमाडौं महानगरपालिकाका सार्वजनिक निर्माण विभागका प्रमुखलाई समन्वय गर्न जिम्मेवारीसमेत तोकिएको छ ।
मन्त्री घिसिङले काम सम्पन्न भएको ठाउँमा पोलमा लत्रिएको तारसमेत व्यवस्थापन गर्न निर्देशन दिए । ‘भौतिक मन्त्रालयको जिम्मेवारी मैले नै सम्हालिरहेको छु, तार भूमिगत गर्न बाँकी रहेको ठाउँमा तत्काल अघि बढाऔँ, अन्तिम समय यही हो । अहिले पनि काम गर्न सकिएन भने कहिल्यै काम हुँदैन,’ मन्त्री घिसिङले भने, ‘निर्माण कार्य सम्पन्न गरेपछि सडकमा देखिएको सडक मर्मतलगायतको काम तत्काल गर्नुहोला ।’ छलफलमा विद्युत् प्राधिकारणका कार्यकारी निर्देशक मनोज सिलवालले सडक विभाग, महानगरलगायतसँग छलफल र समन्वय गरी भूमिगतको बाँकी काम गरिने बताए । उनका अनुसार उपत्यकामा करिब ८० प्रतिशत तार भूमिगतको काम सकिएको छ । तर, तार भूमिगत गरिए पनि सञ्चालनमा भने ल्याइएको छैन । ‘सकेसम्म सडकमा अवरोध हुने गरी काम गर्नुहुँदैन, ठेकेदारलाई भनेका छौँ,’ उनले भने, ‘महानगर, सडक विभागलगायतसँग समन्वय भइरहेको छ ।’
हेर्नुस् भिडियाे :