एक चौकाबराबर एनसेलले चार शैक्षिक सामग्री वितरण गर्ने

सोमबार, २३ मंसिर, २०८२
डिजिटल संस्करण

एनसेल फाउन्डेसनले बिहीबारसम्म नेपाल प्रिमियर लिग (एनपिएल) सिजन–२ मा हानिएका चौकाबापत दुई हजारभन्दा बढी शैक्षिक सामग्री वितरण गर्ने भएको छ । क्रिकेटलाई कक्षाकोठासँग र हरेक चौकालाई उज्ज्वल भविष्यसँग जोड्ने सामाजिक पहलअनुसार यी सामग्री सरकारी तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने कम्पनीले जनाएको छ । 

गत वर्ष सुरु गरिएको यो पहलले नेपालभरका सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीलाई सहयोग गर्दै आएको छ । एनपिएल सिजन–२ का हरेक चौकामा चारवटा शैक्षिक सामग्री वितरण गर्ने प्रतिबद्धता फाउन्डेसनले जनाएको छ । बिहीबार (मंसिर १८) ९० खेलाडीले कुल पाँच सय १० चौका प्रहार गरेका छन् । जसबापत कम्पनीले दुई हजार ४० शैक्षिक सामग्री वितरण गर्नेछ । चौका प्रहार गर्ने शीर्ष तीन खेलाडीको सूचीमा पोखरा एभेन्जर्सका एडम रोसिङ्टन २७ चौकासहित अगाडि छन् ।

त्यस्तै, लुम्बिनी लायन्सका डार्सी सर्टले १९, काठमाडौं गोर्खाजका बेन चाल्र्सवर्थ र सुदूरपश्चिम रोयल्सका विनोद भण्डारीले १७–१७ चौका प्रहार गरेका थिए । यो पहलले शैक्षिक सामग्रीको वितरणमार्फत विद्यार्थीको शिक्षामा सकारात्मक परिवर्तन ल्याउन योगदान दिने कम्पनीले विश्वास लिएको छ । विद्यार्थीलाई प्रदान गरिने प्रत्येक किटमा झोलासहित कापी, पेन्सिल, सार्पनर, इरेजरलगायतका आवश्यक सामग्री रहनेछन् । यी सामग्रीले विद्यार्थीलाई पठनपाठनका लागि आवश्यक स्रोतको कमी घटाउन मद्दत गर्ने र उनीहरूको सिकाइमा योगदान पुर्याउने विश्वास गरिएको छ ।

See More On

सुझावित समाचार