नेपाल विद्युत् प्राधिकरण र काठमाडौं महानगरपालिकाको समन्वयमा काठमाडौंमा विद्युत्को तार भूमिगत गरिने भएको छ । तारलाई भूमिगत गर्ने काममा फिल्डमा देखिएका समस्या समाधान गर्न प्राधिकरणका निर्देशक र महानगरपालिकाका सार्वजनिक निर्माण विभागका प्रमुखलाई तोकिएको छ ।
सडक विभाग, काठमाडौं महानगरलगायतका निकायबाट सहमति प्राप्त नहुँदा, निर्माण व्यवसायीबाट काम सम्पन्न भएपछि सडकलाई मर्मत नगरेकोजस्तो गुनासो आएपछि ऊर्जामन्त्री कुलमान घिसिङले आइतबार प्राधिकरणका कार्यकारी निर्देशक, आयोजना प्रमुख, महानगरपालिका प्रतिनिधि र निर्माण व्यवसायीसँग छलफल गरेका हुन् ।
मन्त्री घिसिङले आगामी वर्षायाम सुरु हुनुभन्दा अगाडि काठमाडौंभित्र तार भूमिगत गर्ने काम सम्पन्न गर्न र सम्पन्न भएको ठाउँमा इन्टरनेट, टेलिफोन, टेलिभिजन सेवाप्रदायकसँग समन्वय गरी जमिनमाथिको तार हटाउन आग्रह गरे । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले सडक विभाग र स्थानीय तहसँग समन्वय गरी निर्माण अगाडि बढाइने बताए । काम सम्पन्न भएका क्षेत्रमा भूमिगत तारबाट विद्युत् आपूर्ति दिन सुरु गरिसकिएको र ओभरहेटलाई क्रमशः हटाउँदै जाने सिलवालले उल्लेख गरे ।