गत असारको बाढीले क्षतिग्रस्त एक सय ११ मेगावाटको रसुवागढी जलविद्युत् आयोजना आंशिक रूपमा सञ्चालनमा आएको छ । गत २४ असारमा चीनको तिब्बतबाट बग्ने ल्येन्दे खोलामा हिमताल विस्फोटनबाट आएको बाढीले आयोजनाको बाँधलगायतका संरचना (हेडवक्र्स)मा ठुलो क्षति पुर्याएको थियो । त्यसपछि बन्द भएको आयोजनामा शनिबारदेखि ३७ मेगावाटको एउटा युनिट सञ्चालनमा ल्याइएको हो ।
परियोजनामा ३७–३७ मेगावाटका तीनवटा युनिट अर्थात् टर्बाइन छन् । बाँकी दुई युनिट भने सञ्चालनमा आउन बाँकी छ । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युत्को अगुवाइमा रसुवामा निर्माण भएको यो आयोजना पुस ०८१ मा मात्रै सञ्चालनमा आएको थियो । त्यसको ६ महिनामै परियोजना बाढीले क्षतिग्रस्त भएको थियो । आवश्यक मर्मत–सम्भार तथा पुनर्निर्माण गरेर शनिबारदेखि एउटा युनिट सञ्चालनमा लाइएको हो । हेडवक्र्सको मर्मतपछि अस्थायी रूपमा नदीबाट पानी डाइभर्सन गरी विद्युत्गृहमा रहेका तीनवटा युनिटमध्ये एउटा युनिट शनिबारबाट सञ्चालनमा ल्याइएको हो ।
बाँकी दुईवटा युनिट एक महिनाभित्र सञ्चालनमा ल्याउने र हेडवक्र्स क्षेत्रको बाँकी मर्मतकार्य आगामी वर्षायामअगाडि नै सम्पन्न गर्ने योजना छ । सोहीअनुसार पुनर्निर्माणको काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए । ‘आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि हिउँदयामको विद्युत् माग व्यवस्थापन गर्न केही सहज हुनेछ,’ उनले भने ।
बाढीले आयोजनाको हेडवक्र्स क्षेत्रमा पानीसँग बगेर आउने काठ, झार, बोटबिरुवाजस्ता वस्तु रोक्ने मेसिन, गेटलगायतका उपकरण बगाएको थियो । हेडवक्र्स नियन्त्रणलगायतका भवनमा दुई मिटरभन्दा बढी लेदो थुप्रिएको थियो । हेडवक्र्समा ठुल्ठुला ढुंगा आएका थिए र पानीलाई सुरुङतर्फ पठाउन बनाएका संरचना भत्किएका थिए । साथै, विद्युत् उत्पादनपछि नदीलाई पानी पठाउन प्रयोग हुने टेलरेसबाट पानी बसेर टर्बाइन रहेको तला पूर्ण रूपमा डुबेको थियो ।
उक्त दिन जलविद्युत् आयोजनामा कार्यरत २२ जना कर्मचारीलाई हेडवक्र्स क्षेत्र र आवास क्षेत्रबाट सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । कर्मचारी आवास क्षेत्र पूर्ण रूपमा बगाएको थियो । बाढीका कारण आयोजनालाई मात्र नभई स्याफ्रुबेँसीबाट आयोजनास्थलसम्म जाने मुख्य राजमार्ग पहिरोबाट विभिन्न ठाउँमा अवरोध भएको थियो ।
आयोजनाबाट १६ पुस ०८१ बाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु भएको थियो । तर, असारमा आएको बाढीले क्षति पुर्याएपछि आयोजनाबाट विद्युत् उत्पादन बन्द थियो । आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि वार्षिक रूपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन हुनेछ । उक्त विद्युत् बिक्रीबाट कम्पनीलाई वार्षिक तीन अर्ब २५ करोड रुपैयाँ आम्दानी हुनेछ ।