नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा निर्माण भएको रसुवागढी जलविद्युत् आयोजना आंशिक सञ्चालनमा आएको छ । गत असार २४ गते बिहान चीनको तिब्बतबाट बग्ने लेन्दे खोलामा हिमताल विस्फाेटबाट आएको बाढीले आयोजनाको बाँधलगायतका संरचना (हेडवर्क्स)मा ठुलो क्षति पुर्याएको थियो ।
हेडवर्क्सको मर्मतपछि अस्थायी रूपमा नदीबाट पानी पथान्तरण (डाइभर्सन) गरी विद्युतगृहमा रहेका तीनवटा युनिटमध्ये एउटा युनिट शनिबारबाट सञ्चालनमा ल्याइएको हो । १११ मेगावाट जडित क्षमताको आयोजनाको एउटा युनिटबाट ३७ मेगावाट विद्युत् उत्पादन हुन्छ ।
बाँकी दुईवटा युनिट एक महिनाभित्र सञ्चालनमा ल्याउने र हेडवर्क्स क्षेत्रको बाँकी मर्मत कार्य आगामी वर्षायाम अगाडि नै सम्पन्न गर्ने गरी पुनर्निर्माणको काम भइरहेको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बताए ।
कार्यकारी निर्देशक सिलवालले प्राधिकरण, चिलिमे र रसुवागढी हाइड्रोपावर कम्पनीका पदाधिकारी तथा कर्मचारीको अथक् प्रयास र मिहिनेतबाट क्षति पुर्याएका संरचनाको मर्मत गरी आयोजना सञ्चालनमा ल्याउन सफल भएको उल्लेख गरे । उनले भने, ‘आयोजनाबाट विद्युत् उत्पादन सुरु भएपछि हिउँदयामको विद्युत् माग व्यवस्थापन गर्न केही सहज हुनेछ ।’
बाढीले आयोजनाको हेडवर्क्स क्षेत्रमा पानीसँग बगेर आउने काठ, झार, बोटबिरुवाजस्ता वस्तु रोक्ने मेसिन, गेटलगायतका उपकरण बगाएको थियो । हेडवर्क्स नियन्त्रणलगायतका भवनमा दुई मिटरभन्दा बढी लेदो थुप्रिएको थियो । हेडवर्क्समा ठुल्ठुला ढुंगा आएका थिए र पानीलाई सुरुङतर्फ पठाउन बनाएका संरचना भत्किएका थिए । साथै, विद्युत् उत्पादनपछि नदीलाई पानी पठाउन प्रयोग हुने टेलरेसबाट पानी बसेर टर्वाइन रहेको तला पूर्ण रूपमा डुबेको थियो ।
उक्त दिन जलविद्युत् आयोजनामा कार्यरत २२ जना कर्मचारीलाई हेडवर्क्स क्षेत्र र आवास क्षेत्रबाट सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको थियो । कर्मचारी आवास क्षेत्र पूर्ण रूपमा बगाएको थियो । बाढीका कारण आयोजनालाई मात्र नभई स्याफ्रुबेँसीबाट आयोजना स्थलसम्म जाने मुख्य राजमार्ग पहिरोबाट विभिन्न ठाउँमा अवरोध भएको थियो ।
आयोजनाबाट १६ पुस २०८१ बाट व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु भएको थियो । तर, असारमा आएको बाढीले क्षति पुर्याएपछि आयोजनाबाट विद्युत् उत्पादन बन्द थियो । आयोजना पूर्ण रूपमा सञ्चालनमा आएपछि वार्षिक रूपमा ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन हुनेछ । उक्त विद्युत् बिक्रीबाट कम्पनीलाई वार्षिक तिन अर्ब २५ करोड रुपैयाँ आम्दानी हुनेछ ।