नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)ले आइतबार (मंसिर २२) १८औँ राष्ट्रिय निर्माण दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै छ । यस दिन बिहान प्रभातफेरी तथा महासंघ सचिवालयमा रक्तदान कार्यक्रमसहित अन्य विविध सामाजिक कार्यक्रमसमेत आयोजना गर्ने एफक्यानले जनाएको छ ।
निर्माण दिवसकै अवसरमा एफक्यानले शनिबार ‘एफक्यान रोड रेस—२०८२’ आयोजनासमेत गरेको छ । जसमा पुरुष खुला १० किमितर्फ प्रथम, द्वितीय र तृतीय हुने राजन रोकाय, सञ्जय श्रेष्ठ र तयाहांग राईले क्रमश: २५, १५ र १० हजार नगद पुरस्कार प्राप्त गरेका छन् । त्यस्तै, महिला खुला १० किमितर्फ पूर्णलक्ष्मी न्यौपाने, निशा सार्की र राज्यलक्ष्मी रावल क्रमश: प्रथम, द्वितीय र तृतीय भई २५, १५ र १० हजार नगद पुरस्कार जिते ।
विजयी खेलाडीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, महासंघका अध्यक्ष रवि सिंह, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेसहित सदस्यले नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए ।