सातवटा विद्युत् ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

शनिबार, २१ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित भएका छन् । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्टमा रूपान्तरण गर्ने दीर्घकालीन रणनीतिसहित १३ वटा ग्रिड सबस्टेसनलाई स्वचालित बनाउन सुरु गरिएको थियो ।

त्यसमध्ये पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुरका ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा आबद्ध गरी सञ्चालनमा ल्याइएको छ । अब उक्त सबस्टेसन मीनभवनस्थित प्रमाणीकरणको भवनमा बनाइएको नियन्त्रण कक्षबाट सञ्चालन गरिएको छ । स्वचालित रूपमा सबस्टेसन सञ्चालन तथा नियन्त्रणका लागि नयाँ नियन्त्रण कक्षसमेत निर्माण गरी सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

स्युचाटार, टेकु, मातातीर्थ, चाबहिल, के ३ र लामासाँघु गरी बाँकी ६ वटा सबस्टेसन दुई महिनाभित्र स्वचालित प्रणालीमा आबद्ध गरिनेछ । प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले सबस्टेसन पूर्ण रूपमा स्वचालित भएपछि बारम्बार हुने विद्युत् अवरोध न्यून हुने, वास्तविक समयको तथ्यांक प्रयोग हुने भएकाले भार (लोड) व्यवस्थापन सहज हुने, सञ्चालन, सम्भार खर्च कम हुने, प्राविधिक क्षति कम हुने र स्मार्ट ग्रिड विकास हुने बताए । उनले स्वचालित बनेपछि क्रमिक रूपमा मानवरहित अवस्थामा अर्थात् भौतिक रूपमा सञ्चालनका लागि कर्मचारी ड्युटीमा खट्नुनपर्ने बताए । 

एसियाली विकास बैंक (एडिबी)को विद्युत् प्रसारण तथा वितरण दक्षता सुदृढीकरण परियोजनाअन्तर्गत प्राप्त भएको सहुलियतपूर्ण ऋणमा सबस्टेसनलाई स्वचालित बनाइएको छ । समग्र आयोजनाको लागत करिब ६१ करोड रुपैयाँ रहेको छ । 

सुझावित समाचार