- नेपालसँग हालसम्मकै धेरै २१ अर्ब २१ करोड डलर विदेशी मुद्रा छ, जसले १६.४ महिनाको आयात धान्न पुग्छ । यस्तो अवस्थामा डलरसँग नेपाली मुद्राले बलियो प्रतिस्पर्धा गर्नुपर्ने हो । तर, डलरको मूल्य बढ्दा नेपाली मुद्रा कमजोर भइरहेको छ ।
अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । राष्ट्र बैंकले बिहीबारका लागि डलरको खरिद मूल्य १४४.०१ रुपैयाँ र बिक्री मूल्य १४४.६१ रुपैयाँ तोकेको छ, जुन हालसम्मकै उच्च हो ।
पछिल्लो तीन दिन डलरको मूल्यले निरन्तर नयाँ रेकर्ड राखेको छ । मंलबार डलरको खरिद मूल्य १४२.९८ र बिक्री मूल्य १४३.५८ रुपैयाँ थियो । बुधबार बढेर खरिद मूल्य १४३.५ रुपैयाँ र बिक्री मूल्य १४४.१ रुपैयाँ पुग्यो । बिहीबार झन् बढेको हो । गहिरिँदै गएको विश्व आर्थिक संकट, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आगमन र उनले लिएका नीतिलगायतका कारणले उतारचढाव भइरहेको डलरको मूल्यमा पछिल्लो समय भारत र अमेरिकाबिचको व्यापार द्वन्द्वले थप असर पारेको छ ।
नेपाली र भारतीय मुद्राको विनिमय दर स्थिर छ । यो अवस्थामा भारतमा डलरको मूल्य बढ्दा नेपालमा बढ्ने र भारतमा घट्दा नेपालमा पनि घट्ने हुन्छ । अहिले भारतमा डलरको मूल्य बढेपछि नेपालमा पनि यसको मूल्य स्वत: बढेको हो । डलरको मूल्य बढ्नु भनेको भारतीय र नेपाली मुद्रा कमजोर हुनु पनि हो ।
भारतीय अर्थतन्त्र कमजोर हुँदाको असर
अमेरिकाले भारतीय वस्तुको आयातमा लाग्ने करको दर गत २७ अगस्ट (११ भदौ)देखि बढाएर ५० प्रतिशत पुर्याएको छ । त्यसअघि अगस्ट १ देखि २५ प्रतिशत कर लगाइरहेको थियो । पछि थप बढाएर ५० प्रतिशत पुर्याइएको हो । भारत र अमेरिकाबिचको व्यापारसम्बन्धी वार्ता पनि सफल हुन सकेको छैन ।
गत अक्टोबर महिनासम्म भारतको व्यापार घाटा ४१ अर्ब डलरमाथि पुगेको छ । चालू खाता पनि १२ अर्ब डलरले घाटामा छ । यसरी अहिले भारतमा अन्योलता देखिएपछि विदेशी लगानी फिर्ता भइरहेको छ । टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार सन् २०२५ मा भारतबाट १७ अर्ब डलर विदेशी लगानी फिर्ता भइसकेको छ । अहिले भारतको जिडिपी बढेको छ भने मूल्यवृद्धि दर पनि कम छ । यो अवस्थामा लगानीको वातावरण भए पनि अमेरिकासँगको व्यापार सम्बन्ध अन्योल भएपछि भारतबाट वैदेशिक लगानी फिर्ता भइरहेको हो । समग्रमा अमेरिका र भारतको भूराजनीतिको असर नेपाली मुद्रामा परेको विज्ञहरू बताउँछन् ।
एक सय भारुमाथिका नोटको अन्तरदेशीय कारोबार खुला, तर नेपालमा भने प्रतिबन्ध कायमै
यसैबिच भारतीय रिजर्भ बैंकले एक सय भारुमाथिको नोट नेपालमा ल्याउन दिने व्यवस्था गरेको छ । साथै, नेपालबाट भारतमा पनि एक सयभन्दा माथिका भारु नोट ल्याउन दिने व्यवस्था भारतीय रिजर्भ बैंकले गरेको छ । नेपालबाट आउजाउ गर्दा २५ हजार भारुसम्म यस्ता नोट बोक्न सकिने भारतीय रिजर्भ बैंकले जारी गरेको राजपत्रमा उल्लेख छ । भारतले भुटानका लागि पनि यो सुविधा खुला गरेको छ । तर, बंगलादेश र पाकिस्तानका लागि भने यो सुविधा खुला गरिएको छैन । बंगलादेश र पाकिस्तानका नागरिकले समेत भारत हुँदै नेपाल वा भुटान आउजाउ गर्दा पनि यो सुविधा पाउनेछैनन् ।
भारतले यसअघि १०० माथिका भारु नोट नेपाल लैजान नदिने र नेपालबाट ल्याउन पनि नदिने व्यवस्था गरेको थियो । अहिले सो व्यवस्था हटाएको हो । अहिले भारतमा एक सयमाथिका २००, ५०० र २००० का नोट छन्, जुन अब भारतबाट नेपाल र नेपालबाट भारत लैजान पाउने गरी भारतले खुला गरेको हो ।
नेपालमा भने भारु कारोबार अझै प्रतिबन्ध नै छ । राष्ट्र बैंकले पछिल्लोपटक २२ चैतमा एकीकृत परिपत्र जारी गर्दै १०० माथिका भारुलाई नेपालमा प्रतिबन्ध लगाएको थियो । भारतले यसअघि लगाएको प्रतिबन्धकै कारण राष्ट्र बैंकले नेपालमा पनि यसलाई प्रतिबन्ध लगाएको थियो । अब यसलाई खुलाउन राष्ट्र बैंकले पनि नयाँ परिपत्र जारी गर्नुपर्नेछ ।
राष्ट्र बैंकका सहायक प्रवक्ता न्यौपानेले भारतको परिपत्र हेरेर आवश्यक मूल्यांकन गरी उचित निर्णय गरिने बताए । ‘अहिले भारतीय कानुनमा मात्रै यो व्यवस्था खुला भएको हो । नेपालको कानुनमा भने प्रतिबन्ध नै छ । भारतीय रिजर्भ बैंकले जारी गरेको सर्कुलर अध्ययन गर्छाैँ । त्यसपछि आवश्यक मूल्यांकन गरेर उचित निर्णय गरिनेछ,’ उनले बताए ।