‘सडकमै खाऔँ, सडकमै नाचौँ र सडकमै रमाउँ’ भन्ने नारासहित पोखराको प्रमुख पर्यटकीय केन्द्र फेवाताल किनारको लेकसाइड क्षेत्रमा आउँदो १३ पुसदेखि २७औँ पोखरा सडक महोत्सव २०२६ हुने भएको छ। अंग्रेजी नयाँ वर्ष २०२६ को अवसर पारेर रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेबान) पोखराको आयोजनामा हुने महोत्सव १७ पुससम्म चल्नेछ।
आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्यस्थलको रूपमा विकास गर्ने मुख्य उद्देश्यसहित विगत २६ वर्षदेखि महोत्सव गर्दै आएको आयोजक रेबानका अध्यक्ष विश्वराज पौडेलले बिहीबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बताए। लेकसाइडको फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जहरेवरसम्मको साढे तीन किलोमिटर क्षेत्रमा सञ्चालन हुने महोत्सवमा सो अवधिभर त्यस क्षेत्रका होटेल तथा रेस्टुरेन्टहरूले आफ्ना भान्छा सडकमै राख्ने र त्यहीँबाट सेवा दिनेछन्। महोत्सवमा चार सयभन्दा बढी स्टलहरूले सडकबाटै आफ्नो सेवा दिने पौडेलले जानकारी दिए।
महोत्सवका संयोजकसमेत रहेका आयोजक रेबानका उपाध्यक्ष वसन्त गौतमका अनुसार महोत्सवको मुख्य आर्कषणको रूपमा स्थानीय हस्तकला, चित्रकला, मूर्तिकला, कृषि, वनस्पतिलगायतलाई प्राथमिकतासाथ प्रदर्शन गरिनेछ। सँगै विभिन्न जातीय तथा धार्मिक संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रदर्शन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, रात्रीकालीन कन्सर्ट, सडक नाटक, दोहोरी गीत प्रतियोगिता, विभिन्न साहसिक गतिविधि र खेलहरू समेटिएको वृत्तचित्र प्रदर्शनसँगै यस क्षेत्रका पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन, विकास, अवसर र चुनौतीलगायतका विषयमा बहस तथा अन्तर्क्रिया गरिने गौतमले बताए।
होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले महोत्सव रेबानले आयोजना गरे पनि सबैको साझा महोत्सव बनिसकेको बताए। महोत्सवमा आउने पर्यटकहरूको स्वागतका लागि संघ तयारी अवस्थामा बसेको उनले बताए।
आयोजक रेबानका महासचिव वीरेन्द्र शेरचनका अनुसार मःम खाने, ससेज खाने, रस्साकसी, वेटर वेट्रेसहरूको चम्चा दौड, डुंगा दौडलगायतका प्रतियोगिताहरूसमेत महोत्सवका अवसरमा सञ्चालन हुनेछन्। महोत्सवको मुख्य प्रायोजकमा गोर्खा ब्रुअरी प्रालि तथा सहप्रायोजकमा यति डिस्ट्रिलरी, बोटलर्स नेपाल (तराई) र दी नेपाल डिस्ट्रिलरी प्रालि रहेका छन्।
महोत्सवको प्रवर्द्धकमा नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका, गण्डकी प्रदेश सरकार, पोखरा भ्रमण वर्ष २०२५ र पोखरा पर्यटन परिषद् रहेका छन्। सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनरमा रहेको छ भने म पानी, गृहलक्ष्मी ग्यास, अन्नपूर्ण केवल कार, रेड बुल सहयोगी संस्थाका रूपमा रहेका छन्।