- बर्सेनि घट्दै धानखेती, तर उत्पादकत्वमा भने वृद्धि जलवायु परिवर्तन र तीव्र सहरीकरण धानखेती घट्नुका मुख्य कारण
धान खेतीका लागि उर्वरभूमि मानिएको झापामा प्रत्येक वर्ष खेतीको क्षेत्रफल भने घट्न थालेको छ । कृषि ज्ञान केन्द्र झापाको तथ्यांकअनुसार बर्सेनि धान लगाउने क्षेत्रफल घटिरहेको छ । झापामा यस वर्ष किसानले ७२ हजार ७४२.६५ हेक्टर क्षेत्रफलमा धान रोपेका छन् । जबकि चार वर्षअघि अर्थात् आव ०७८/०७९ मा ८७ हजार ५०० हेक्टर क्षेत्रफलमा बर्खेधान लगाउँदै आएका थिए ।
चार वर्षको अवधिमा १४ हजार ७५७.३५ हेक्टर क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । यस्तै, आव ०७९/०८० मा ८७ हजार ५०० हेक्टर, ०८०/०८१ मा ७३ हजार ९५० हेक्टर र ०८१/०८२ मा ७५ हजार ४५९.१८ हेक्टर क्षेत्रफलमा धान लगाएकोे कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । यस वर्ष झापामा तीन लाख ५४ हजार ३५१.९२ मेट्रिकटन धान उत्पादन भएको केन्द्रले जनाएको छ ।
धानखेती घटे पनि झापामा धानको उत्पादकत्व भने बर्सेनि बढिरहेको छ । झापामा बर्खेधानको उत्पादकत्व ०७८/०७९ मा चार दशमलव ८५, ०७९/०८० मा ४.८९, ०८०/०८१ मा ५.०५ थियो । यो क्रमश: बढ्दै ०८१/०८२ मा ५.०७३ पुगेको थियो भने चालू आवमा ५.१९ प्रतिशत पुगेको विष्टले जानकारी दिए । ‘पछिल्लो समय उन्नत जातको धानको बीउ राख्ने चलन बढेको छ । पहिला लामो समयसम्म एउटा बीउ प्रयोग हुन्थ्यो भने अहिले किसानले धानको बीउ फेरिफेरि लगाउन थालेका छन् । जसका कारण पनि उत्पादकत्व बढेको देखिन्छ,’ विष्टले भने, ‘झापामा रासायनिक मलको प्रयोग पनि बढेको देखिन्छ । यसले पनि उत्पादकत्व बढाएको छ ।’
झापामा प्रत्येक वर्ष धानखेती घट्नुको मुख्य कारण सहरीकरण र बस्ती विस्तार भएको ज्ञान केन्द्र प्रमुख विष्टले जानकारी दिए । त्यसबाहेक जलवायु परिवर्तनका कारण पनि खेत बाँझै रहने अवस्था रहेको उनको भनाइ छ । समयमा पानी नपर्दा खेती हुन सकेको छैन । झापामा ६६ प्रतिशत भूभागमा नहर तथा बोरिङमार्फत सिँचाइ हुन्छ । बाँकी खेतीमा भने आकासेपानीकै भर पर्नुपर्ने अवस्था रहेको उनले बताए । ‘अहिले खेतीयोग्य जमिनमा प्लटिङ हुँदा धानखेती केही घट््दो क्रममा छ,’ उनले भने, ‘यस वर्ष भने समयमा पानी नपर्दा धानखेती घटेको देखिन्छ ।’
केन्द्रका प्रमुख विष्टका अनुसार धानखेती लगाएपछि सुरक्षित नहुँदा पनि किसानले खेती घटाएका हुन् । ‘बाढीजस्तो प्राकृतिक प्रकोपले धानखेती सखाप बनाउँछ । तर, त्यसको सुरक्षा छैन । ०७८ सालको बाढीले धानमा क्षति पुर्याउँदा पनि किसानले क्षतिपूर्ति पाएनन् । यसपटक पनि त्यस्तै छ,’ उनले भने, ‘धानखेतीमा क्षति हुँदा क्षतिपूर्तिको व्यवस्था हुन सक्ने भए खेतीप्रति आकर्षण रहन्थ्यो ।’
किसानले भने धानको उचित मूल्य पाउन नसक्दा क्रमश: धानखेती घट्दो क्रममा रहेको बताएका छन्् । धानखेतीमा गरेको लगानी पनि उठ्न नसक्दा खेत बाँझै छाड्नुपर्ने अवस्था आएको गौरादहका किसान इन्द्र पोखरेलले बताए । ‘खेती गर्ने समयमा सिँचाइ हुँदैन । मोटरबाट गर्दा सरकारले बिजुलीको पैसा पनि सहुलियत दिँदैन । समयमा मल र बीउ पाइँदैन,’ उनी भन्छन्, ‘ उत्पादन गरेपछि सरकारले तोकेको समर्थन मूल्य पनि पाइँदैन लगानी पनि नउठ्ने भएपछि किसान किन खेती गर्छन् ?’ सरकारले किसानलाई प्रोत्साहन गर्ने हो भने झापामा धानखेती वृद्धि हुने उनको भनाइ छ ।
किसानले पाउँदैनन् समर्थन मूल्य
सरकारले चालू आर्थिक वर्षमा मध्यम धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको छ । यस्तै, मोटा धानकोे समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा तोकेको छ । तर, किसानले भने यो वर्ष मध्यम धानको मूल्य प्रतिक्विन्टल अधिकतम तीन हजार र मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार ७५० सम्म मात्र पाइरहेको ज्ञान केन्द्र प्रमुख विष्ट बताउँछन् ।
सरकारले समर्थन मूल्य कार्यान्वयन गर्न नसक्दा किसान मर्कामा परेको गौरादहका किसान इन्द्र पोखरेल बताउँछन् । ‘सरकारले कम्तीमा समर्थन मूल्य त किसानले पाउने अवस्था आउने हो भने पनि किसानले खेती गर्थे,’ उनी भन्छन्, ‘खेतीका लागि गरेको लागत पनि उठ्ने अवस्था छैन ।’
बाढीले ८० करोडको धानबालीमा क्षति
गत असोज र कात्तिकमा आएको बाढीका कारण झापामा ८० करोडबराबरको धानबालीमा क्षति पुगेको छ । यस वर्ष झापामा ३ लाख ५४ हजार ३५१ दशमलव ९२ मेट्रिकटन धान उत्पादन भएकोमा २३ हजार ५६४ दशमलव ३३ मेट्रिकटन धानमा बाढीका कारण क्षति भएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । जसको मूल्य करिब ८० करोड पर्ने जाने उनी बताउँछन् ।
यसपटक पाक्न लागेको धानमा क्षति पुग्दा किसान मर्कामा परेका छन् । यसपकट खेती गर्दा लागेको ऋणसमेत तिर्न सक्ने अवस्था नरहेको गौरीगन्ज– १ का किसान नरेश हस्दाले बताए । ‘अर्काकोे तीन बिघा खेत ठेक्कामा लिएर धान लगाएको थिएँ । बाढी पसेर कामै नलाग्ने गरी धान बिग्रियो । यसपटक त खेती गर्न लिएको ऋण पनि तिर्न नसक्ने अवस्थामा पुगेको छ,’ उनले भने, ‘सरकारले पनि हेर्दैन । अब हामीले त्यो ऋण कसरी तिर्ने ? अर्कोपटक कसरी खेती गर्ने ?’
कृषि ज्ञान केन्द्र झापाका सागर विष्ट भन्छन्–
चार वर्षको अवधिमा धान खेती हुने करिब १५ हजार हेक्टर क्षेत्रफल घटेको छ । प्रत्येक वर्ष क्षेत्रफल घट्दै जानुको मुख्य कारण सहरीकरण र बस्ती विस्तार हो । जलवायु परिवर्तनका कारण पनि खेत बाँझै रहने अवस्था छ । समयमा पानी नपर्दा खेती हुन सकेको छैन । तर, किसानले बीउ फेरीफेरी लगाउने र रासायनिक मलको पनि बढी प्रयोगले उत्पादकत्व भने बढेको देखिन्छ ।