सहिदभूमिमा अरुण लिफ्टिङ बृहत् खानेपानी आयोजना सुरु

बुधबार, १८ मंसिर, २०८२
डिजिटल संस्करण

धनकुटाको सहिदभूमि गाउँपालिकामा अरुण लिफ्टिङ बृहत् खानेपानी आयोजना सुरु भएको छ। गाउँपालिकाको सातवटै वडाका दुई हजार ६५६ भन्दा बढी घरधुरीलाई खानेपानी पुर्याउने उद्देश्यले पहिलोपटक निकै महत्त्वाकांक्षी खानेपानी योजनाको थालनी भएको हो।

संघीय सरकारको ३५ करोड रुपैयाँको लागतमा बन्न लागेको खानेपानी आयोजनाको पूर्वखानेपानीमन्त्री राजेन्द्र राईले शिलान्यास गरेका छन्। बहुवर्षीय आयोजनाको रूपमा रहेको सो आयोजना सम्पन्न गर्न कुल लागत ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। 

संघीय सरकारको खानेपानी कार्यान्वयन इकाइले यो वर्ष ३५ करोड रुपैयाँमा ठेक्का लगाएको छ। सहिदभूमिमा पानीको भूमिगत मुहान सुकेका कारण यहाँ खानेपानीको चरम अभाव हुने गरेको छ। धेरैजसोले टाढा–टाढाबाट बोकेर ल्याउने गरेका छन्। अरुण लिफ्टिङ बृहत् खानेपानी आयोजना सम्पन्न हुँदा यस क्षेत्रका बासिन्दाले पर्याप्त खानेपानी पाउने गाउँपालिका अध्यक्ष मनोज राईले बताए।

सो आयोजना अरुण नदीको पानी सहिदभूमि गाउँपालिका– ४ को लामीबगरबाट पाँच ठाउँ लिफ्टिङ गरेर घुमाउने डाँडासम्म ल्याइनेछ। सो पानी सहिदभूमिको सातवटै वडामा पुर्याउने योजना छ। आयोजना सम्पन्न भएपछि प्रतिसेकेन्डमा ६५ लिटर पानी लिफ्टिङ गर्न सकिन्छ। १२ घण्टामा २८ लाख आठ हजार लिटर पानी आउँछ। यसो हुँदा सहिदभूमि गाउँपालिकाका दुई हजार ६५६ भन्दा बढी घरधुरीले प्रतिघर प्रतिदिन एक हजार लिटरभन्दा बढी पानी उपभोग गर्न पाउनेछन्।

सुझावित समाचार