चिकित्सकहरूको पेसागत हकहितका लागि क्रियाशील संगठन नेपाल चिकित्सक संघको लहान शाखाको आगामी तीनवर्षे कार्यकालका लागि सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको छ । सिराहाको लहानमा सम्पन्न चिकित्सकहरूको तेस्रो जिल्ला भेलाले डा. ओमप्रकाश चौधरीको अध्यक्षतामा ११ जना पदाधिकारीसहित २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
समितिमा इमिडियट पास्ट प्रेसिडेन्ट डा. सुभाषबाबु साह, वरिष्ठ उपाध्यक्ष डा. रितेश गिरी, उपाध्यक्षहरू डा. ल्युसुनकुमार यादव (सुखीपुर), डा. महेशकुमार साह (लहान), डा. शम्भुकुमार साह (मिर्चैया), डा. तेजशंकर यादव (गोलबजार), कोषाध्यक्ष डा. गीताकुमारी यादव र सहकोषाध्यक्ष डा. राखी साह चयन भएको नवनिर्वाचित अध्यक्ष चौधरीले जानकारी दिए ।
उनका अनुसार समितिमा सदस्यहरू डा. अखिलेशकुमार चौधरी, डा. अनिलकुमार यादव, डा. विनोदकुमार साह, डा. धीरजकुमार साह, डा. गंगाप्रसाद मण्डल, डा. मुकुन्दप्रसाद साह, डा. परवेज कौशर र डा. प्रवीण यादव चयन भएका छन्। नवनिर्वाचित कार्यसमितिका महासचिव डा. वृजेन्द्रकुमारका अनुसार तीन सदस्यीय सल्लाहकारमा डा. मिश्रीलाल साह, डा. रवीन्द्रकुमार र डा. शिवशंकर साह चयन भएका छन् ।
करिब डेढ दशकअघि पहिलोपटक दिवंगत डा. पशुपति चौधरीको अध्यक्षतामा गठन गरिएको संघको पछिल्लो नयाँ कार्यसमिति तेस्रो रहेको जनाइएको छ । तीनवर्षे कार्यकाल भए पनि संघको लहान शाखामा दोस्रो कार्यसमितिका अध्यक्ष भएका डा. सुभाषबाबुको कार्यकाल विभिन्न कारणले लम्बिएपछि ढिलो गरी तेस्रो नयाँ कार्यसमिति गठन गरिएको संघले जनाएको छ ।