नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिनिङ मिल्सलाई अवरुद्ध रहेको प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) प्रक्रिया सुरु गर्न अनुमति दिएको छ । बोर्डले मंगलबार उच्च अदालत पाटनको परमादेशको आदेशलाई कार्यान्वयन गर्दै आइपिओ निष्कासन प्रक्रिया सुरु गर्न अनुमति दिएको हो ।
धितोपत्र बोर्डले मंगलबार निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई दिएको पत्रमा भनिएको छ, ‘उच्च अदालत पाटनबाट मिति ०८१ असार १२ मा भएको स्वीकृतिबमोजिम निवेदक कम्पनीको सेयर निष्कासन सम्बन्धमा कानुनबमोजिम आवश्यक निकासा दिनु भनी परमादेशको आदेश जारी भएअनुसार उक्त कम्पनीको सार्वजनिक निष्कासनसम्बन्धी प्रक्रिया अगाडि बढाउनुहुन जानकारी गराइन्छ ।’
स्वीकृतिसँगै अब रिलायन्सको सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत हुने प्रक्रिया सुरु भएको छ । रिलायन्सले एक वर्षअघि नै प्रतिकित्ता ८२०.८० रुपैयाँका दरले सर्वसाधारणलाई प्राथमिक सेयर निष्कासन गर्ने प्रक्रिया सुरु गरेको थियो । संस्थागत लगानीकर्ताले प्रतिकित्ता नौ सय १२ रुपैयाँका दरले आइपिओ किनिसकेका छन् । रिलायन्स स्पिनिङ मिल्स अग्रणी औद्योगिक घराना गोल्यान ग्रुपको अभिन्न अंग हो ।