६१ मेगावाटको नारखोलामा जुट्यो लगानी, पाँच बैंकले लगानी गर्ने

सोमबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

सिंगटी हाइड्रोको मुख्य लगानीमा मनाङमा ६१ मोगावाटको नारखोला जलविद्युत् आयोजना निर्माणका लागि वित्तीय ऋण लगानी सम्झौता सम्पन्न भएको छ।

सोमबार एक कार्यक्रमबिच नारखोला हाइड्रो इनर्जी प्रालिका अध्यक्ष बटु लामिछाने र कुमारी बैंकका प्रमुख क्षेत्रीय कर्जा अधिकृत अर्पण पोखरेलले  संयुक्त रूपमा हस्ताक्षर गर्दै वित्तीय व्यवस्थापन टुंग्याएका हुन्।

मनाङस्थित नार्पा भूमि र नासोङ गाउँपालिकामा रहेको नारखोला र सोतीखोलाको पानीलाई एकीकृत गरी ६१.११ मेगावाटको जलविद्युत् आयोजना निर्माण प्रक्रिया अघि बढाइएको हो। आयोजनाको प्रवर्द्धक कम्पनी नारखोला हाइड्रो इनर्जी प्रालिले आयोजना निर्माणका लागि सबै प्रक्रिया पूरा भएको जनाएको छ।

नेपाल विद्युत् प्राधिकरणसँग यसअघि नै विद्युत् खरिद सम्झौता पिपिए भैसकेको उक्त आयोजनामा कुमारी बैंकको अगुवाइमा नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, एनआइसी एसिया बैंक र मुक्तिनाथ विकास बैंकले लगानी गर्ने गरी आर्थिक व्यवस्थापन टुंगिएर सोमबार हस्ताक्षर भएको हो।

नारखोला जलविद्युत् आयोजनाको ग्रेस हेड ५८८.८२ मिटर रहने र वार्षिक ३६६.४८ गिगावाट विद्युत् उत्पादन हुनेछ। आयोजनाको हेडरेस टनेल लगभग ८ किलोमिटर रहेको छ। आयोजनाको बाँध तथा हेडवक्सका संरचनाहरु नार्पा भुमि गाउँपालिकामा हुने र उक्त बाँधस्थलबाट सुरुङमार्ग हुँदै नासोङ गाउँपालिकामा रहने विद्युत् गृहमा पानी पठाई बिजुली उत्पादन गरिनेछ। आयोजनाबाट उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको मनाङस्थित निर्माणाधीन धारापानी सबस्टेसनमा जोडिनेछ।

आयोजनाको कुल लागत १२ अर्ब ८४ करोड रहेको छ। जसमा बैंकको कर्जा ९ अर्ब ६३ करोड र स्वपुँजी ३ अर्ब २१ करोड रहेको छ। सिंगटी हाइड्रो इनर्जी लिमिटेडको मुख्य लगानी रहने कम्पनीले जनाएको छ। आयोजनाले ३ वर्षभित्र विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणमा जोड्ने तयारी गरेको छ।

सुझावित समाचार