नयाँ पत्रिकाकर्मी पवन तिमिल्सिना र अनलाइन खबर डटकमका भुवन पौडेल सेजन अवार्डबाट सम्मानित भएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले २९औँ वार्षिकोत्सवको अवसरमा सोमबार विशेष कार्यक्रमबिच एक लाख रुपैयाँ राशिको उक्त अवार्ड वितरण गरेको हो।
तिमल्सिनालाई ‘पूर्वविशिष्टहरूको सेवा बढाएर तयार गरिएको विधेयक’ र त्यसको फलोअप समाचारका लागि तथा पौडेललाई ‘दीपेन्द्र अग्रवालको कारोबार आफूले बेचेको सेयर आफैँ किन्ने, महँगोमा जनता फसाउने’ शीर्षकको समाचारका लागि प्रदान गरिएको सेजन अवार्ड तथा पुरस्कार छनोट समितिका संयोजक एवं सेजनका पूर्वअध्यक्ष डा. गोपाल तिवारीले बताए।
त्यसैगरी, ५० हजार रुपैयाँ राशिको सेजन छापामाध्यमतर्फको अवार्ड कान्तिपुर दैनिकका विमल खतिवडालाई प्रदान गरिएको छ। खतिवडालाई ‘टुक्रे आयोजनामा बजेट विनियोजन’सम्बन्धी समाचारका लागि अवार्ड प्रदान गरिएको हो।
५० हजार रुपैयाँ राशिकै सेजन डिजिटलमाध्यमतर्फको अवार्ड बिजमाण्डू डटकमका सुनील कुँवरले पाएका छन्। ‘आइपिओका नाममा प्रिमियम पैसा उठाएर कर छली’ शीर्षक र सोसम्बन्धी समाचारका लागि उनी पुरस्कृत भएका हुन्।
साथै, एक लाख रुपैयाँ राशिको डा. भोला चालिसे लिबरल जर्नालिजम अवार्ड दुई पत्रकारलाई प्रदान गरिएको छ। अन्नपूर्ण डटकमका सुनिता कार्कीलाई ‘एकीकृत फोहोरमैला व्यवस्थापन परियोजना १४ वषदेखि अलपत्र’ शीर्षकको समाचारका लागि र नेपालन्युज डटकमका उद्धव थापालाई ‘मुआब्जाको पासोमा ठुला परियोजना’ शीर्षकको समाचारका लागि उक्त अवार्ड प्रदान गरिएको सेजनले जनाएको छ।

सो अवसरमा सेजनका पूर्वउपाध्यक्ष स्व. सञ्जय न्यौपानेको स्मृतिमा स्थापना गरिएको एक लाख रुपैयाँ राशिको स्व. सञ्जय न्यौपाने लेखनवृत्ति, २०८२ गोरखापत्र दैनिकका भेषराज बेल्वासेलाई प्रदान गरियो। उनलाई ‘महाभूकम्प, कोभिड–१९, बाढी र जेन-जी आन्दोलनले लघु, घरेलु तथा साना उद्योग व्यवसायमा परेको प्रभाव’ शीर्षकको अनुसन्धान प्रस्ताव उत्कृष्ट ठहरिएकाले छनोट गरिएको पूर्वअध्यक्ष डा. तिवारीले बताए।
सो अवसरमा सेजनका पूर्वकार्यसमिति सदस्य स्व. सागर घिमिरेको स्मृतिमा आयोजना गरिएको स्व. सागर घिमिरे स्मृति फुटसल प्रतियोगिताका विजेता र उपविजेता टोलीलाई पनि पुरस्कार प्रदान गरिएको सेजनले जनाएको छ।