नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा रु. एक करोड ५० लाखको सहयोग प्रदान गरेको छ ।
मंसिर १५ गते अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोहबिच कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघई, सञ्चालक कमलेशकुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले संयुक्त रूपमा एक करोड पचास लाख रुपैयाँको चेक माननीय अर्थमन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गरेका हुन् ।
गत भदाै २३ र २४ गते भएको जेन–जी प्रदर्शन र आन्दोलनको क्रममा देशभरिका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायत कार्यका लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा एक करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो ।
उक्त हस्तान्तरण समारोहमा बोल्दै यस कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्दलाल संघईले नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए ।
जेन–जी प्रदर्शन र आन्दोलनको क्रममा सार्वजनिक भौतिक संरचनामा ठुलो क्षति पुगेको र यसको पुनर्निर्माणमा सहयोग गर्न पाउँदा आफू हर्षित भएको बताए ।
आगामी दिनहरूमा पनि यस किसिमको सहयोग प्रदान गर्न कम्पनी तत्पर रहेको प्रतिबद्धतासमेत व्यक्त गरे । नेपाल सरकारले आर्थिक, सामाजिक, भौतिक रूपान्तरणका लागि सञ्चालनमा ल्याउने विभिन्न कार्यक्रमहरूमा सहयोग गर्न कम्पनी तत्पर रहेको र त्यसका निम्ति पहल गरिदिनसमेत आग्रह गरे ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले नेपालको पूर्वाधार विकासमा यस किसिमको सहयोग टेवा पुर्याउने र आगामी दिनमा पनि यसप्रकारको सहयोगको अपेक्षा रहेको बताए ।