बनगाईको खारखानी बाणगंगा नगरपालिकाको आन्तरिक पर्यटकको नयाँ गन्तव्य बन्दै

आइतबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

बाणगंगा नगरपालिका– ७ स्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गसँगै रहेको खारखानी पछिल्ला महिनाहरूमा कपिलवस्तुको सबैभन्दा आकर्षक आन्तरिक पर्यटक स्थलको रूपमा उदाएको छ। दैनिक रूपमा सयौँ पर्यटक पिकनिकका लागि आउने गरेको कारण खारखानी अहिले केवल कपिलवस्तु मात्र नभई अर्घाखाँची, रुपन्देहीलगायत अन्य जिल्लाबाट पनि आगन्तुकहरूको मनपर्ने गन्तव्य बनेको छ।

वडाध्यक्ष विष्णु गिरीका अनुसार खारखानी क्षेत्रलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउँदै ‘खारखानी डिल पार्क एवं पिकनिक स्पट’को रूपमा विकास गर्ने लक्ष्यसहित नगरपालिका र वडा नं. ७ ले निरन्तर लगानी गरिरहेको छ।

गर्मी मौसममा पानीको अभाव नहोस् भनेर नयाँ बोरिङ निर्माण गरी पर्याप्त शुद्ध खानेपानीको व्यवस्था मिलाइएको छ। प्रत्येक पिकनिक सेडमा धारासहित ढलान गरिएका बेन्च र टेबल राखिएकाे अध्यक्ष गिरीले जानकारी दिए।

खारखानी क्षेत्रमा पर्ने प्रगति सामुदायिक वनमा ३० बिघा क्षेत्रफलमा ३२ हजारभन्दा बढी बिरुवा रोपिएको छ। वन अध्यक्ष लक्ष्मण खड्काका अनुसार टिक, जामुन, सिसौ, आँप, अमला, बडरालगायतका बिरुवा रोपेर वन क्षेत्र संरक्षण र पर्यटक आकर्षण दुवैको वातावरण निर्माण गरिएको छ। यस वर्ष जिल्ला वन कार्यालयको आर्थिक सहयोग, मोतीपुर सबडिभिजन वन कार्यालयको प्राविधिक सहयोग र वडा नं. ७ को समन्वयमा बिरुवा रोपाइँ गरिएको र सुरक्षा सुनिश्चित गर्न तारबार जाली पनि लगाइएको छ।

डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरीप्रसाद पौडेलका अनुसार प्रगति सामुदायिक वन कपिलवस्तुको नमुना सामुदायिक वन बन्ने सम्भावना राख्छ। सञ्चालन, संरक्षण, व्यवस्थापन र सामुदायिक सहभागिताको आधारमा प्रगति सामुदायिक वन जिल्लाकै उत्कृष्ट मोडेल बन्दै गएको छ।

स्थानीय बासिन्दाहरूका अनुसार कोइली पुलको पश्चिमतर्फ फैलिएको हरियाली, नदी, चौर र पर्याप्त सुविधा भएको पिकनिक क्षेत्रले खारखानीलाई परिवार, विद्यार्थी, कार्यालय समूह र गोठालाहरूका लागि रमाइलो र सहज स्थल बनाएको छ। स्थानीय कृष्ण खनालका अनुसार स्थानीय तह, सामुदायिक वन र विभिन्न निकायको समन्वयमा अघि बढाइएको विकास गतिविधिले खारखानीलाई बाणगंगाको प्रमुख पर्यटकीय ब्रान्डको रूपमा स्थापित गर्दै छ।

सुझावित समाचार