नबिल बैंक र नेपाल इन बिजनेस–ग्रोथ अड्भाइजर्सबिच सम्झौता

बिहिबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण

नबिल बैंक र नेपाल इन बिजनेस–ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए)बिच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका प्रमुख रतिश बस्न्यातले साझेदारीपत्रमा हस्ताक्षर गरेका हुन्। उक्त कार्यक्रमअन्तर्गत फरेन कमनवेल्थ एन्ड डेभलपमेन्ट कार्यालय (एफसिडिओ)ले एनआइबी–जिएमार्फत विभिन्न ४० वटा साना तथा मझौला उद्यमलाई एनआइबीले तोकेको मुख्य क्षेत्र र भूगोलका आधारमा ८४ करोड रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।

नबिल बैंकका सिइओ ज्ञवालीले यसप्रकारका अभियानले साना तथा मझौला उद्यमीहरूको मनोबल बढाउन सहयोग पुग्ने बताए। उनले भने, ‘परियोजनाअन्तर्गत नबिल बैंकले साझेदार संस्थालाई एसएमई कर्जा र च्यानल फाइनान्सिङको सुविधा उपलब्ध गराउनेछ।’

साझेदारीअनुसार नबिल बैंकले कार्यक्रमको वित्तीय साझेदारका रूपमा उद्यमीलाई अनुदान वितरण गर्ने बताइएको छ। बैंकले सबै साझेदार संस्थाका लागि सुरक्षित, पारदर्शी र प्रभावकारी रूपमा वित्तीय व्यवस्थापन गर्नेछ। 

एनआइबी–जिए पाँचवर्षे परियोजना हो। परियोजनामा बेलायतको युके इन्टरनेसनल डेभेलपमेन्टबाट वित्तीय सहयोग प्राप्त छ भने डिएआई ग्लोबल युकेले कार्यान्वयन गर्दै आएको छ।

सुझावित समाचार