सालपा विकास बैंकलाई १७ लाख २३ हजार ८८० कित्ता सेयर निष्कासनको अनुमति

बुधबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाल धितोपत्र बोर्डले सालपा विकास बैंकलाई प्राथमिक सेयर (आइपिओ) निष्कासनका लागि अनुमति दिएको छ । ‘खोटाङको बचत, खोटाङमै लगानी’ भन्ने मूल नारासहित वि.सं. २०६९ साउन ३ गते खोटाङको दिक्तेल बजारमा स्थापना गरिएको सालपा विकास बैंकलाई बोर्डले १७ लाख २३ हजार ८८० कित्ता सेयर निष्कासनका लागि अनुमति दिएको हो । 

संस्थापक सेयर सदस्यको ७० प्रतिशत र सर्वसाधारणको ३० प्रतिशत गरी रु. दुई करोड लगानीमा स्थापना गरिएको बैंकको कुल चुक्ता पुँजी रु. ३५ करोड पुगेपछि आइपिओका लागि अनुमति माग गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) योगेन्द्र पुनले जानकारी दिए । ‘कुल चुक्ता पुँजी रु. ५२ करोड २३ लाख ८८ हजार पुर्याउने गरी आइपिओ खुला गर्ने तयारी गरिएको छ । यसका लागि धितोपत्र बोर्डले अनुमति दिइसकेको छ,’ उनले भने, ‘यो सेयर सर्वसाधारण समूहमा निष्कासन हुन्छ । जसअनुसार वैदेशिक रोजगारीमा रहेकाका लागि १० प्रतिशत, मिच्युअल फन्टका लागि साढे दुई प्रतिशत, कर्मचारीका लागि ०.५ प्रतिशत र बाँकी ८७ प्रतिशत सर्वसाधारणका लागि खुला गर्ने तयारी गरिएको छ ।’

नेपाल राष्ट्र बैंकबाट (ख) श्रेणीको अनुमति लिएर सञ्चालन गरिएको सालपा विकास बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड कम्पनी तोकिएको जनाइएको छ । पहिलोपटक निष्कासन गर्न लागिएको प्रतिसेयर  १०० का दरले बिक्री गरिने बैंकले जनाएको छ । 

जिल्लाका विभिन्न स्थानीय तहमा शाखा विस्तार गरेर सेवा प्रदान गर्दै आएको सालपा विकास बैंकले १२ वर्षपछि मोबाइल बैंकिङ सेवा उपलब्ध गराएको थियो । आइपिओ खुला गरेलगत्तै विभिन्न जिल्लामा शाखा विस्तार गर्ने तयारी गरिएको सञ्चालक समितिका अध्यक्ष टंक राईले जानकारी दिए।  

बैंकले निक्षेप रकमलाई जिल्लाका कृषि, पर्यटन, व्यवसायी, उद्यमीहरुको व्यवसाय प्रवर्द्धनका लागि सुलभ ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । ‘जनता बैंकमा होइन, बैंक जनतासम्म जानुपर्छ’ भन्ने अवधारणा लिएर स्थापना गरिएको सालपा विकास बैंक ‘एक घर, एक खाता’ परियोजनासमेत सञ्चालन गरेको छ । 

जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारसँगै विभिन्न स्थानीय तहको ६ ठाउँमा शाखा रहेको बैंकले चल्ती तथा कल खाता, साधारण, नारी, विद्यार्थी, ज्येष्ठ, बाल, खुत्रुकेलगायतका १० वटा बचत खाता, आठ किसिमका मुद्दती खाता र नौ किसिमका कर्जा तथा सापट विप्रेषणलगायतका सेवा प्रवाह गर्दै आएको छ । हलेसी, ऐँसेलुखर्क, बाक्सिला, सिम्पानी र चिसापानीमा शाखा कार्यालय स्थापना गरेर सेवा प्रवाह गर्दै आएको बैंकले आइएमई, प्रभु मनी ट्रान्सफर, हिमाल रेमिट, वेस्टर्न युनियन, हुलास रेमिट, सेवा रेमिट, सिजी फिन्को, सिटी एक्सप्रेस, रिलायबल रेमिट, कुमारी रेमिट सेवासमेत प्रदान गर्दै आएको जनाइएको छ । 

१० जिल्लाका १२० जना सेयर सदस्यबाट सुरु गरिएको बैंकमा हाल ६८ जिल्लाका तीन हजार पाँच सय सेयर सदस्य छन् । स्थापनाकालमा खोटाङ जिल्लालाई मात्रै कार्यक्षेत्र बनाएको बैंकको गत फागुन २० गते सम्पन्न ११औँ साधारणसभाले आफ्नो कार्यक्षेत्रलाई थप चार जिल्लामा विस्तार गर्ने निर्णय पारित गरेको छ ।
 
 

सुझावित समाचार