कैलाली प्रहरीले जिल्ला अदालत कैलालीबाट दोषी ठहर भएर कैद तथा जरिवाना भएका १४९ जनालाई पक्राउ गरेको छ । कैलालीमा प्रहरीले सञ्चालन गरेको ‘सर्च तथा स्विप अपरेसन’अन्तर्गत एक साताको अवधिमा उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार गत १ मंसिरदेखि ७ मंसिरसम्मको अवधिमा जिल्लाका विभिन्न ठाउँबाट फरार प्रतिवादी पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयको टोलीले ६८ जना र बाँकी ८१ जनालाई मातहतका अन्य सातवटा युनिटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको उनले जानकारी दिए ।
पक्राउ परेकाहरूलाई जिल्ला अदालतमार्फत जिल्ला कारागार चलान गरिएको प्रहरीले जनाएको छ । जिल्ला अदालत कैलालीबाट विभिन्न मितिमा कैद तथा जरिवाना भई फरार रहेका प्रतिवादीलाई पक्राउ गर्न ‘सर्च तथा स्विप अपरेसन सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक सिंहले बताए ।