इजरायली मानव अधिकार समूहले दुई वर्षभन्दा कम समयमा इजरायली हिरासतमा कम्तीमा ९४ प्यालेस्टिनी कैदीबन्दीको मृत्यु भएको जनाएको छ । फिजिसियन्स फर ह्युमन राइट्स इजरायल (पिएचआरआई) को नयाँ प्रतिवेदनले ‘व्यवस्थित हत्या र ढाकछोप’को अभ्यासको आरोप लगाएको छ ।
प्रतिवेदनले ७ अक्टोबर २०२३ देखि अगस्टको ३० सम्मको अवधिलाई समेट्छ, जतिवेला हमासले इजरायलमा आफ्नो घातक आक्रमण सुरु गर्यो र गाजामा पछिल्लो द्वन्द्वलाई निम्त्यायो । यसले पछिल्लो दश वर्षको अवधिमा इजरायली हिरासतमा ३० भन्दा कम प्यालेस्टिनीको मृत्यु भएकोसमेत जनाएको छ ।
इजरायल कारागार सेवा (आइपिएस) ले भनेको छ कि यो ‘कानुनअनुसार र आधिकारिक निरीक्षण निकायको निरीक्षणमा सञ्चालन हुन्छ ।’ यसले बाहिरी निकायबाट प्राप्त भएका तथ्यांक वा आरोपमा टिप्पणी नगरेको बताएको छ ।
‘सबै कैदीलाई कानुनी प्रक्रियाअनुसार राखिन्छ र चिकित्सा हेरचाह, सरसफाइ र पर्याप्त जीवनयापनको पहुँचसहितको उनीहरूको अधिकार व्यावसायिक रूपमा प्रशिक्षित कर्मचारीद्वारा कायम राखिन्छन्,’ आइपिएसले थप्यो ।
पिएचआरआईले आफ्नो प्रतिवेदन आधिकारिक रेकर्ड र तथ्यांकलाई फोरेन्सिक रिपोर्ट, अन्य मानवअधिकार समूहबाट प्राप्त जानकारी र विशिष्ट व्यक्ति पत्ता लगाउने प्रयासका साथै बन्दी, उनीहरूका परिवार र वकिलहरूको प्रमाणसँग जोडेर तयार पारिएको बताएको छ । मृत्यु भएकामध्ये ५२ जना सैन्य कारागारमा थिए भने ४२ जनाको मृत्यु आइपिएसद्वारा सञ्चालित नागरिक जेलमा भएको बताएका छन् ।