भारतले नेपाललाई थप १० वटा बेलिब्रिज (फलामे पुल) अनुदानमा दिएको छ । भारी वर्षाबाट आएको बाढीपहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रूपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेलिब्रिज दिएको हो । भारतले गत वर्ष पनि १० वटा बेलिब्रिज नेपाललाई दिएको थियो ।
भारतले उपलब्ध गराउने बेलिब्रिजमध्ये बिहीबार हेटौँडामा औपचारिक कार्यक्रमबिच नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङलाई बेलिब्रिज हस्तान्तरण गरेका हुन् । हालै नेपाललाई एउटा हस्तान्तरण गरिएको छ भने बाँकी नौवटा बेलिब्रिज एक हप्ताभित्र नेपाल आइपुग्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।
भारतले उपलब्ध गराएको बेलिब्रिजको लम्बाइ ७० मिटर छ । पुलको चौडाइ सिंगल लेन ४.२५ मिटर रहेको छ । पुलको भारवहन क्षमता ३८ मेट्रिकटन रहेको छ । समारोहमा मन्त्री घिसिङले नेपाल प्राकृतिक विपत्को संकटमा रहेका वेला भारतले उपलब्ध गराएको सहायताले क्षति पुगेका पूर्वाधार शीघ्र पुनस्र्थापना गरी सडक सञ्जाल सहज बनाउन महत्वपूर्ण रहेको बताए ।
सडक, ऊर्जा, शिक्षा, स्वास्थ्य, क्षमता अभिवृद्धिलगायतका क्षेत्रमा भारत नेपालको विश्वसनीय छिमेकी रहेको उल्लेख गर्दै मन्त्री घिसिङले संकटका समयमा उपलब्ध गराएको सहायताले द्विपक्षीय साझेदार अझै दह्रो देखिएको बताए । उनले भारतले नेपाललाई गर्दै आएको निरन्तर सहायोगका लागि धन्यवाद दिए । नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपालको कठिन समयमा सहयोग गर्न सधैँ तयार रहेको बताए । यस वर्ष उपलब्ध गराइएको बेलिब्रिजको लम्बाइ केही लामो रहेकाले यसले धेरै क्षति पुगेका ठाउँमा जडान गर्न थप सहज हुने उल्लेख गर्दै उनले छनोट गरिएका ठाउँमा पुल जडानका लागि छिट्टै प्राविधिक टोली पनि आउने जानकारी दिए ।