प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा देखापरेको सुरक्षा चुनौतीहरूको विश्लेषण गर्दै त्यस्ता चुनौतीहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति बनाई प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तुलगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा सोमबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले कुनै पनि अपराधविरुद्ध निर्मम भई सबै प्रहरी कर्मचारीहरूले आ–आफ्नो जिम्मेवारी व्यावसायिक रूपमा वहन गर्न निर्देशन दिएका हुन्।
आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषणमा थप सक्रियता अपनाउनु आवश्यक रहेको बताउँदै वस्तुनिष्ठ अपराध अनुसन्धान, सीमा नाकामा हुने तस्करी नियन्त्रण, हातहतियार बरामद, फरार प्रतिवादी पक्राउलाई समेत प्राथमिकतामा राखी थप सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिए । सबै प्रहरी कर्मचारीहरू शिष्ट बोली, वचन एवं व्यवहारका साथ नागरिकका गुनासो सम्बोधन गर्न क्रियाशील हुनुपर्नेमा उनको जोड छ। आ–आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै स्थानीय तह एवं सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी व्यावसायिक, उत्तरदायी एवं जवाफदेही प्रहरी सेवा प्रवाह गर्नुपर्ने उनको भनाइ छ।
आसन्न निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन आवश्यक सुरक्षा रणनीतिहरू अवलम्बन गरी कार्यान्वयन गर्नसमेत उनले निर्देशन दिएका छन्।
कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले समेत समसामयिक विषयमा निर्देशन दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरूलगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातवटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी परिसरहरू र जिल्ला प्रहरी कार्यालयहरू एवं मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो । आइजिपी भएपछि कार्कीले पहिलोपटक यसरी देशैभरिका प्रहरी इन्चार्जहरूलाई निर्देशन दिएका हुन्।