नेपाली कांग्रेसभित्र युवा पुस्ताको निर्णायक सहभागिता सुनिश्चित गर्न पार्टीका हरेक तहमा ३३ प्रतिशतभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने प्रस्ताव गरिएको छ।
कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जारी केन्द्रीय समिति बैठकमा लिखित प्रस्ताव पेस गर्दै पार्टीको विधानलाई नै ‘युवामैत्री’ बनाउन यस्तो व्यवस्था गर्न माग गरेका हुन्। पछिल्लो समय युवाहरूमाझ पार्टीप्रतिको आकर्षण घट्दै गएको र नेतृत्व पंक्तिमा पुस्तान्तरणको बहस चलिरहेका वेला महरको यो प्रस्ताव आएको हो।
महरले पार्टीलाई समयसापेक्ष, गतिशील र ऊर्जावान् बनाउन वडा तहदेखि केन्द्रीय समितिसम्मका सबै संरचनामा युवाहरूको अनिवार्य र अर्थपूर्ण सहभागिता आवश्यक रहेकोमा जोड दिएका छन्।
‘पार्टीका सबै तहमा कम्तीमा पनि एकतिहाइभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व रहने गरी विधानलाई युवामैत्री बनाउनुपर्छ,’ महरको प्रस्तावमा भनिएको छ। उनले यस्तो व्यवस्थाले पार्टीको निर्णय प्रक्रियामा युवा दृष्टिकोण समावेश हुने र देशका बहुसंख्यक युवा मतदातालाई कांग्रेससँग जोड्न सकिने विश्वास व्यक्त गरेका छन्।
यो प्रस्तावले पार्टीको आन्तरिक पुनर्संरचना र पुस्तान्तरणको बहसलाई थप अघि बढाएको छ।