जेन–जी समूह सप्तरीले गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट नपठाउनसहितका चारबुँदे मागसहित स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र पठाएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र दिन उनीहरूले बुधबार सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेललाई ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् । मन्त्रालयले अस्पतालमा निमित्त मेसु पठाउन लागिएको विषय जानकारीमा आएको भन्दै जेन–जी समूह सप्तरीले दरबन्दीअनुसारकै तहको मेसु राख्न आग्रह गरेका छन् ।
उनीहरूले उक्त अस्पतालमा दरबन्दी रही काजसरुवामा रहेका चिकित्सक तथा कर्मचारीलाई फिर्ता वा वैकल्पिक व्यवस्था गर्न, अस्पताललाई शीघ्र तीन सय बेडका लागि आवश्यक व्यवस्था मिलाउन र अस्पतालमा थप विशेष सेवा थप्न मन्त्रालयले सहयोग गर्न माग गरेका छन् । मन्त्रालयले अस्पतालमा रहेको समस्या समाधान गर्न भूमिका निर्वाह नगरेको, तर पछिल्लो मन्त्री र कर्मचारीले निजी स्वार्थमा मेसु फेरबदल गर्ने गरेको आरोप छ ।
‘संघ सरकारअन्तर्गत सञ्चालित सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल जिल्लाको एक मात्र ठुलो अस्पताल हो । तर, यस अस्पतालको अवस्था सुरुदेखि नै अत्यन्तै दयनीय रहेको छ । दरबन्दीअनुसारका अस्पतालमा स्वास्थ्यकर्मी र प्रशासन कर्मचारीको आभाव व्याप्त छ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘यहाँ दरबन्दी रहेका कर्मचारी र चिकित्सकहरू लामो समयदेखि काजसरुवामा रहेको विषय सञ्चारमाध्यमहरूमा समेत आइरहेको छ। कर्मचारी अभावका कारण अस्पतालमा एचडियू, आइसियूलगायतका विशेष सेवाहरू नियमित हुन सकेका छैनन् । तीन सय बेडको भौतिक संरचना अस्पतालमा तयार भए पनि पचास बेड मात्रै स्वीकृत भएकोले सोहीअनुसार दरबन्दी रहेको छ र त्यसमा पनि कर्मचारी काजसरुवामा छन् । यस्तोमा अस्पतालको अवस्था कस्तो हुने कुरा सामान्य बुझाईले बुझ्न सकिन्छ ।’
मन्त्रालयले दरबन्दीअनुसारका मेसुलाई हटाएर एक तह तल्लोस्तरका मेसुलाई निमित्तको जिम्मेवारी दिए जेन–जी सप्तरीले सशक्त आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ ।
