झापाको झापा गाउँपालिका–५ स्थित बिरिङ खोलाको बगरमा एक जनाको शव गाडेको अवस्था फेला परेको छ । शिवसताक्षी–१० का ३३ वर्षीया सरोज शर्माको शव बिरिङ खोलाको बगरमा गाडेको अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार उनलाई हत्या गरी गाडेको हुन सक्ने आशंका गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काका अनुसार शर्मा ९ कात्तिकदेखि बेपत्ता थिए।‘अनुसन्धानबाट खुल्न आएपछि शव गाडेको अवस्थामा फेला परेको हो, उनले भने,‘पहिचान भएको छैन । तर, आफन्तले सरोज नै हो भनेका छन् ।’
शव पोस्टमार्टमका लागि पठाइएको छ । घटनामा संलग्न भएको आशंकामा दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । तर, प्रहरीले उनीहरूको पहिचान खुलाएको छैन । कात्तिक ९ देखि बेपत्ता शर्माले चड्ने गाडी भने केही दिन अघि चाराली जंगलमा चलेको अवस्थामा फेला परेको थियो ।